आज थपिए ५९४ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो

काठमाडौं, ३० श्रावण – नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ थियो । मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ९१३ रहेको छ भने १४ हजार ६३८ जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका ४ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले पर्सा, महोत्तरी, रौतहट र काठमाडौं गरी चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको जानकारी दिएका हुन् ।

यसैगरी नेपालका ७७ जिल्लामध्ये हाल ४ जिल्लामा कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म डोल्पा, संखुवासभा, मनाङ र मुस्ताङ गरी चार जिल्लाका सबै संक्रमितहरु निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८३७ थियो ।

आज ३० गते अपराह्न साढे ४ बजे आयोजित स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङमा दिएको जानकारीअनुसार मृतकको संख्या ९९ थियो । त्यसमा वीरगञ्जमा मृत्यु भएका बाराका एक युवकको तथ्यांक थिएन । साँझ धनुषामा मृत्यु भएका एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या १०० नाघेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार