काठमाडौं, ३१ श्रावण – आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो ।
११ हजार ४७ पीसीआर परीक्षण गरिएकोमा ४६८ लाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार काठमाडौं उपत्यकामा १०० जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ८०, ललितपुरमा ११ र भक्तपुरमा ९ जनामा नयाँ संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । आज थपिएका संक्रमितसँगै नेपालभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।
त्यस्तै अहिलेसम्म कोरोनाका कारण १०२ जनाले ज्यान गुमाएका छन् । आज विभिन्न अस्पतालबाट १२४ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार १०८, प्रदेश नम्बर २ मा ३ हजार ५४५, बागमती प्रदेशमा ६४१ र गण्डकी प्रदेशमा १ हजार ५२५ जना संक्रमित डिस्चार्ज भएका छन ।
मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाव दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताएका छन् ।