काठमाडौं, १ भदौ – नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने उपत्यकामा मात्र १६८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा ११ हजार पाँच सय २० जनाकाे पीसीआर परीक्षण भएकाे छ । देशका विभिन्न ठाउँको आइसोलेशनमा नाै हजार ६ सय ३९ जना छन् । यस्तै १५ हजार एक सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ४९५ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।
मन्त्रालयका अनुसार आज रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको छ । हाल सम्म १०७ जनाको मृत्यु भएको छ भने १७ हजार ४९५ जना निको भएका छन् ।