जिसस सदस्यसहित रुकुमका १०५ जना नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

रुकुम, ६ भदौ – जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्यसहित १०५ जना नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पूर्व नेकपा माओवादी केन्द्रबाट जिल्ला समन्वय समितिमा निर्वाचित अमृत बोहरा (हरियाली) सहित १०५ जना कांग्रेसमा प्रवेश गरेको कांग्रेस जिल्ला उपसभापति धिरेन्द्र बटालाले जानकारी दिए ।

आठविसकोट नगरपालिका–३ स्यालाखदी घर भएका हरियाली सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का कर्णाली कमिटी सल्लाहकार सदस्य हुन् । तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरु जनताको पक्षकाभन्दा पनि आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेकाले आफूले पार्टी छाडेको हरियालीले बताए ।

सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरु अहिले भ्रष्टाचारमा लिप्त भएर पैसा कमाउन लागेकाले नेकपामा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने ठम्याई पछि नेकपा छोडेको उनको भनाइ छ ।

हरियालीसहित आठविसकोट नगरपालिकामा रामबहादुर रोकाय, शेरबहादुर आरसी, कलु पुरी, प्रेमबहादुर पुरी, डम्बरबहादुर शाह, धनसिंह बोहरालगायत १०५ जनाले आफ्नो पार्टीमा प्रवेश गरेको जिल्ला उपसभापति बटालाले जानकारी दिए । पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्ने युवाहरुको लहर चलेको उनको भनाइ छ ।

लोकतान्त्रिक विधिबाट जनता र मुलुकको विकास गर्दै देशमा भएका ठूला परिवर्तनको नेतृत्व गरेको आफ्नो पार्टीमा पछिल्लो समय रुकुम जस्तो माओवादी प्रभाव क्षेत्रबाट नेकपा छाडेर युवाहरु प्रवेश गर्नेको लहर चलेको कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीको दाबी छ । नेकपाले विभिन्न आश्वासन दिएर युवाहरुलाई पार्टीमा सहभागी हुन बाध्य बनाए पनि पछिल्लो समय तीनै तहका सरकारले गरिरहेका कामबाट गलत आश्वासन मात्रै पुष्टी भएको उनले बताए ।

विशेष गरी द्वन्द्वको समयमा युवाहरुलाई रोजगारी, समानताको व्यवस्था गर्ने आवश्वासन दिएर युद्वमा सहभागी गराएपनि शान्ति स्थापनापछि त्यो सबै बिर्सीएर युवाहरुको भविष्य अन्धार बनाएको सभापति ओलीको आरोप छ । ‘स्थानीय तहको निर्वाचनमा युवाहरुलाई आफ्नो पार्टीको सरकार बनेपछि गाउँमै रोजगारीको व्यवस्था गर्ने आवश्वास दिइयो,’ सभापति ओलीले भने, ‘तर तीनै तहमा सरकारको नेतृत्व गरेका नेकपाका नेताहरु भ्रष्टचार र आफन्तलाई संरक्षण गर्ने बाहेक अरु केही काम गर्न नसक्दा युवाहरु कांग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ ।’

कांग्रेस जनताको पार्टी भएकाले सधैं आफूले हारेर भएपनि मुलुक र जनतालाई जिताउँदै आएको उनको दावी छ । पछिल्लो तीन महिनामा रुकुमका विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेकपाका कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गरेको उनले जनाए । प्रवेश गर्नेहरुमा पूर्व माआवादी केन्द्रका युवाहरु बढी रहेको सभापति ओलीले बताए ।

नेकपाका नेताहरुलाई समाज र जनताको विकासप्रति चिन्ता नहुँदा आफूजस्ता हजारौं युवाहरुको भविष्य अन्धकार हुन बाध्य भएको मुसिकोटका दत्तबहादुर बोहराले बताए । देशमा भएका ठूला परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेकाले अब युवा बेरोजगारीको अन्त्य गरेर समृद्ध नेपाल बनाउनका लागि कांग्रेसले मात्रै सक्ने भएकाले सबै युवाहरुले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार