काठमाडौं, १६ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जना सहित १०६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ८८ नमुना परीक्षण गर्दा ३४४ महिला र ७२५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । उनीहरुमध्ये २३९ जनाको मृत्यु भएको छ भने २२ हजार १७८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७६८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० छन् ।
यस्तै रुपन्देहीका ९१ जना, सुनसरीका ५६, चितवनका ४५, बझाङका ४०, बाँकेका ३३, लमजुङका ३२, डोटीका २४, कैलालीका २०, सर्लाहीका १९, नवलपुरका १५, झापाका १४, गुल्मी र अछामका १३/१३ जना, मोरङ र बैतडीका १२/१२ जना तथा धनुषा, दोलखा र धादिङका ११/११ मा संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँचीका ९ जना, काभ्रे र गोरखाका ८/८ जना, कपिलवस्तुका ७, मकवानपुर र सिन्धुलीका ६/६ जना, रौतहट र तनहुँका ५/५ जना, कास्की, नवलपुर र कञ्चनपुरका ४/४ जना, ओखलढुंगा, खोटाङ, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका २/२ जना तथा उदयपुर, पाँचथर, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, पर्वत, पाल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान र सुर्खेतका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको थियो । आज थप ११ जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।