सरकारले वीर अस्पताललाई अब कोभिड अस्पताल बनाउने

काठमाडौं, १८ भदौ – सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित बुधबार बसेको छलफलले अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो।

छलफलमा सहभागी अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले पनि संक्रमण बढेकाले संक्रमितको उपचार गर्न अस्पताललाई कोभिड अस्पताल बनाइने निर्णय भएको जनाए।

उनले सुरूमा १ सय १० संक्रमितको उपचार गर्ने गरी पूर्वाधार तयार गरिने बताए। ‘अहिले झण्डै ६५ जना संक्रमितको उपचार भइरहेको छ। अब एक दुई दिनमै १ सय १० बेडको क्षमता बनाउँछौ,’ उनले भने, ‘पछि विस्तार गर्दै कम्तिमा ३ सय क्षमता पुर्‍याउने भन्ने हो।’

उनले अब वीरमा हुँदै आएको उपचार सेवा भने ट्रमा सेन्टरबाट दिइने जनाए। अहिले अन्य बिरामीको चाप घटेको भन्दै अब ओपिडी लगायतको सेवा ट्रमा सेन्टरबाट दिइने निर्देशक सेन्चुरीले बताए।

डायलासिस सेवा भने वीर अस्पतालबाटै दिइने भएको छ। निर्देशक सेन्चुरीले भने, ‘कोभिड भन्नेबित्तिकै पूरै संक्रमितको मात्र उपचार गर्ने भन्ने हैन। डायलासिस, नेफरोलोजी सेवा यहीँबाट दिइन्छ।’

पछिल्लो समय वीर अस्पतालमै संक्रमण फैलिएको छ। अहिलेसम्म चिकित्सक, नर्स लगायत अन्य कर्मचारीसहित ७० जना बढीलाई संक्रमण पुष्टि भएको छ। मन्त्रालयले उपत्यकामा संक्रमित संख्या बढ्दै गएकाले संक्रमितको उपचार गर्नलाई अस्पतालको खोजी तथा व्यवस्थापन गरिरहेको छ।

यसअघि टेकु, पाटन र एपिएफ अस्पताल मात्र कोभिड विशेष अस्पताल रहेकोमा गत साता मात्र सरकारले काठमाडौंको जनमैत्री र कान्तिपुर अस्पताललाई पनि कोभिड अस्पताल तोकेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार