बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं, १८ भदौ – नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका छन् ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए । यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो ।

प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए ।

गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो । सोही महिनाको  २० गते खतिवडाको रष्ट्रियसभाको कार्यकाल सकिने भएपछि उनको ठाउँमा गौतमलाई पठाउने गरी सचिवालयले निर्णय गरेको थियो ।  तर प्रधानमन्त्री केपी ओली सो निर्णयलाई अवज्ञा गरेका थिए भने पार्टीभित्र यही विषयमा विवादसमेत चर्किएको थियो ।

विवादकै कारण ओलीले संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिएका थिए भने अहिलेसम्म कसैको मनोनयन भएको थिएन ।

यस्तै कार्यदलको प्रतिवेदनबारे पनि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार