काठमाडौं, २ आश्विन – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८५९ सहित नेपालभर २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना गरी जम्मा ८८५ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४३ हजार ८२० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।