https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

अध्ययनबिना सीमा मिचिएको छैन भन्नु परराष्ट्र मन्त्रालयको कमजोरी : कांग्रेस

काठमाडौं, ८ आश्विन – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल–चीन सीमाका बारेमा सरकारले हतारमा टिप्पणी गरेकोभन्दै आपत्ति जनाएको छ । सीमा निरीक्षणमा गएको सरकारी संयन्त्र नफर्किदै नेपाल–चीन सीमाका बारेमा सरकारले हतारमा गरेको टिप्पणी युक्तिसंगत नभएको कांग्रेसको ठहर छ ।

“सरकारको जिल्लास्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्वनै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन,” प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्ष पछि सीमा मिचिएको हो-होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको कांग्रेसको टिप्पणी छ ।

“नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकता बारे वस्तुगत अध्ययनकै क्रममा हुनुहुन्छ,” विज्ञप्तिमा भनिएको छ, “सीमा सम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने हाम्रो बुझाइ छ ।”

बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किएपछि सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न कांग्रेसले सरकारलाई सचेत गराएको छ ।
“स्थलगत अध्ययनको धारणा आउनुपूर्वनै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ,” प्रवक्ता शर्माले भनेका छन् ।

यसअघि बुधबार नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको दाबी गरेका थिए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार