प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ, बुटवलमा आन्दोलन

बुटवल, १६ असोज – प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् ।

दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव छ । यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने उनको प्रस्ताव छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष नेतृत्वबीच सहमति भए लगतै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको थियो ।

प्रदेश सभामा प्रस्ताव पेस भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले बुटवलमा टायर बालेर प्रदर्शन थालेको छ। सरकारी गाडीमाथि तोडफोड भएको छ। कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रस्तावविरूद्ध कडा आन्दोलन गर्ने बताएका छन्।

‘संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग बिना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहात बनाएको छ। यस्तो प्रस्तावको खिलापमा कडाभन्दा कडा खालका आन्दोलनहरू सञ्चालन गर्ने जानकारीसमेत दिन चाहन्छौं,’ सभापति रज्जाकले निकालेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारका पालामा रूपन्देहीलाई प्रदेश ५ को राजधानी तोकिएको उल्लेख गर्दै उनले त्यसबेला उक्त निर्णयको स्वागत गरेका जनतालाई हठात् रूपमा आएको यस्तो प्रस्तावले स्तब्ध पारेको उनले बताएका हुन्।

‘नेकपा नेतृत्वको वर्तमान सरकारको यो प्रस्तावका विरूद्धमा आफ्नो स्थानबाट चरणवद्ध आन्दोलनमा उत्रिन जिल्लावासीमा हामी अपिल गर्दछौं,’ उनले भनेका छन्। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा सदस्य विष्णु पन्थी दाङको देउखुरीलाई प्रदेशको राजधानी बनाउने प्रस्तावको विपक्षमा उभिएका छन्।

प्रदेश सभामा पेश गरिएको प्रस्ताव संशोधन गरी कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउने संसदमा प्रस्ताव लैजाने सांसद पन्थीले बताए।नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिपछि प्रदेश सरकारले पनि देउखुरीलाई राजधानी बनाउने निर्णय गर्दै उक्त प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको थियो।

तर पन्थीले भने पार्टी र सरकार कसैको पनि ह्विप आफूले नमान्ने बताएका छन्। भौगोलिकता, सुगमता र ऐतिहासिकता सबै क्षेत्रबाट कपिलवस्तु नै राजधानीको लागि उपयुक्त स्थान रहेको भन्दै पन्थीले पार्टी र सरकारको उक्त निर्णय आफूलाई मान्य नहुने बताएका हुन्।

गुल्मीदेखि गुलरियासम्मका सबै नागरिकलाई पायक र सहज हुनुको साथै गौतमबुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेकाले कपिलवस्तु मात्रै प्रदेश राजधानीको लागि उपयुक्त स्थान रहेको उनले बताए।

सांसद पन्थीले सुरूदेखि नै राजधानीको लागि कपिलवस्तुको पक्षमा लबिङ गर्दै आएका थिए। उनले कपिलवस्तुका सबै दलका सांसदहरू कपिलवस्तुलाई राजधानी बनाउन एकजुट रहेको समेत बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार