अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतिलाई कोरोना संक्रमण

एजेन्सी — अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतिलाइ कोरोना भाइरस  भएको ट्रम्पको ट्वीटसँगै संसारभरि विभिन्न क्षेत्रमा हलचल आएको छ। यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई पनि कोरोना संक्रमण भएको थियो।

बेलायती प्रधानमन्त्री जोन्सनको अवस्था त यति जटिल बनेको थियो कि उनलाई केही घन्टासम्म आइसियुमा राखिएको थियो। भेन्टिलेटर प्रयोग गर्नु परेको थियो। भर्खर ५५ वर्ष पुगेका जोन्सनभन्दा ट्रम्पको उमेर धेरै बढी छ। उनी अहिले ७४ वर्ष पुगेका छन्।

बुढ्यौली उमेरका कारणले पनि ट्रम्पमाथि कोरोनाभाइरसले कस्तो असर गर्छ? उनले यसलाई सहजै परास्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराले अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनमात्र होइन संसारका धेरै कुरालाई अनिश्चित बनाएको छ।

राजनीतिक रूपमा राष्ट्रपतिको चुनाव आउनु एक महिनाअघिमात्रै ट्रम्प बिरामी परेपछि अब उनको चुनावी अभियान कसरी अघि बढ्छ भन्ने अनिश्चितता बढेको छ। ट्रम्पको संक्रमणले चुनावलाई कस्तो असर पार्ला भन्ने  चासो बढेको छ।  संसारभरिका नेताहरूले सामाजिक सञ्जालमा ट्रम्पको शीघ्र स्वास्थ्यको कामना गरेका छन्।

अमेरिकामै कतिपयले भने सुरूदेखि नै ट्रम्पले कोरोनाभाइरसलाई खेलाँचीको रूपमा लिएको भन्दै आफूलाई पनि जोगाउन नसक्ने ट्रम्पले कसरी देशलाई जोगाउँछन् भन्दै प्रश्न गरेका छन्।

कोरोनाको संक्रमण भएपछि  ट्रम्पको स्वास्थ्य सामान्य रहेको ह्वाइटहाउसले जनाएको छ। उनी ह्वाइट हाउसमै चिकित्सकको निगरानीमा  क्वारेन्टिनमा बस्ने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार