काठमाडौं उपत्यकामा ११७७ जना सहित नेपालभर २१२० जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

काठमाडौं, १७ असोज – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११७७ जना सहित नेपालभर थप २१२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा ७६६ महिला र १३५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । उनीहरुमध्ये ५२८ जनाको मृत्यु भएको छ भने ६२ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । २०४४ जना पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणमुक्त भएका हुन् ।

देशभर २१ हजार ३०२ संक्रिय संक्रमित छन् । ११ हजार ५२९ जना होम र ९ हजार ७७३ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २१७ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

शनिबार पनि ८ जनाको मृत्यु भएको छ । इनरुवा-४, सुनसरीकी २८ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । कोरोना संक्रणम पुष्टि भएपछि उनी असोज ८ मा अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै बिराटनगर महानगरपालिका-३, मोरङकी ६८ वर्षीया महिलाको कोशी अस्पताल आइसोलेसन सेन्टरमा मृत्यु भएको छ । उनलाई ११ गते संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ६८ र ८३ वर्षीय पुरुष, ललितपुरका ६७ वर्षीय पुरुष, सिन्धुपाल्चोकका ४१ वर्षीय पुरुष, दोलखाका ६५ वर्षीय पुरुष र कैलालीका ७९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार