दशौको माहोलमा पनि कोभिड१९ को कारण यात्रुहरू नहुँदा बसपार्क सुनसान

काठमाडौँ, २ कार्तिकविश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड– १९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् ।

नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडबाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विगतका वर्षमा दशैँको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले कोभिड–१९ को समयलाई सदुपयोग गर्दै नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रुहरु छैनन् ।

ल्होत्से बहुउदेश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कोरोना सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम गरेर प्रविधिको प्रयोगमार्फत टिकट बुकिङ गर्ने व्यवस्था गरेको थियो ।

प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल कोभिड–१९ को सङ्क्रमणका कारण यस वर्ष घर जाने यात्रुमा उत्साह नभएको बताउनुहुन्छ । “विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक एक हजार हाराहारीमा सार्वजनिक यातायात नयाँ बसपार्कबाट बाहिरिने गरे पनि अहिले भने दैनिक २०० सवारी साधन बाहिरिँदै आएका छन्”, उहाँ भन्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार