कांग्रेसका नेता जोशी द्वारा विज्ञ चिकित्सकसहितको टेलिसेन्टर सञ्‍चालन

काठमाडौं, २१ कार्तिक – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले कोरोना भाइरस संक्रमणबारे नागरिकलाई जानकारी गराउने उद्धेश्यले विज्ञ चिकित्सक रहेको टेलिसेन्टर सञ्चालन ल्याएका छन् ।

उनले कोरोनाबारे नागरिकलाई सही सूचना दिन र आवश्यकता अनुसार विज्ञचिकित्सकसँग नागरिकले सिधैं परामर्श गर्ने गरी टेलिसेन्टर सञ्चालनमा ल्याएको जानकारी दिए । काठमाडौं निर्वाचन क्षेत्र नं.८ का नागरिकलाई लक्षित गरेर सुरु गरिएको टेलिसेन्टर सेवा बिहान, दिउँसो र राति गरी तीनवटै सिफ्टमा २४ घण्टा उपलब्ध हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

नागरिकले चिकित्सकसँग सिधै टेलिफोन सम्पर्क गरेर आवश्यक परामर्श लिन सक्नेछन् । टेलिसेन्टरमा दुई जना बरिष्ठ चिकिस्तक डा. रविन्द्र पाण्डे र डा. भूपेन्द्र बस्नेतले आवश्यक परामर्श दिने नेता जोशीले बताए । उनका अनुसार बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा चिकित्सकसँग परामर्श गर्न तीन वटा छुट्टाछुट्टै फोन नम्बर उपलब्ध गराइएको छ ।  नेता जोशीले टेलिसेन्टरको व्यवस्था देशभरमै आफ्नो निर्वाचन क्षेत्रमा पहिलो भएको दावी गरे ।

त्यस्तै नेता जोशीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई लक्षित गरेर घरघरमा अक्सिमिटर, मास्क, औषधि वितरण गर्ने कार्य पनि सुरु गरिने जानकारी दिए । गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसर पारेर कात्तिक २४ गतेदेखि कोरोनाबाट बच्ने उपायको जानकारीमूलक पम्पलेट, तिन लेयर सहितकाे कपडाको मास्क र सिटामोल वितरण गरिने उनले बताए ।

‘साधन र स्रोतको सीमितताले गर्दा यसपटक काठमाडौं क्षेत्र नं. ८ मा मात्र सीमित हुनुपर्ने बाध्यता मलाई छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘मैलेजस्तै सबै निर्वाचित जनप्रतिनिधि तथा कांग्रेसका जिम्मेवार साथीहरुलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाको संक्रमण नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दछु ।’

उनले कोरोना नियन्त्रणमा सरकार संवेदनशील नभएको दावी गरे । साथै गरिव, मजदूरप्रति सरकार गैरजिम्मेवार बनेको उनको टिप्पणि थियो । जोशी अध्यक्ष रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नेपालमा कोरोना संक्रमण देखिएलगत्तै सरकारले गर्नुपर्ने कामका बारेमा विज्ञहरु सम्मिलित अध्ययन समिति बनाएर सरकारलाई लिखित सुझाव प्रतिवेदन समेत बुझाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार