भिख मागेर वा बिन्ती गरेर समाजमा ‘न्यायोचित परिवर्तन’आउदैन

“भिख मागेर वा बिन्ती गरेर समाजमा ‘न्यायोचित परिवर्तन’आउदैन । हामी दृढतापुर्वक ‘विकल्प’ बनौं, ‘संकल्प’ गरौं, ‘न्यायोचित परिवर्तन’ स्वभाविकरुपमा हामीबाटै संभव छ ।”

अरुको खिल्ली उडाउन, बिरोध मात्र गर्न, मजाक बनाउन, चाकडी गर्न, महिमागान गाउन, चुप लागेर बस्न, जीहजुरी गर्न वा कुरा काटेर दिन बिताउन हामी रमाईलो मात्र मान्दैनौ, यसो गर्दा आफुलाई महान भएको गर्विलो ढोंगी अनुभूति र घमण्ड पनि गर्न भ्याउदछौं ।

यसो गरेर दिन बिताउनु गलत हो भन्ने हामीलाई लाग्दैन किनकी बर्षौ बर्ष यसो गर्दै हामी हुर्कियौं ।यसो गर्दा मेहनत पनि गर्नु पर्दैन र कुनै जोखिम वा संकट पनि व्योहोर्नु पर्दैन ।

यसो गर्नु हाम्रो आदत मात्र होईन, स्वभाव र दिनचर्या नै भई सक्यो । यसो गर्नु गलत हो भनेर हामीलाई शालीनतापुर्वक वा कठोरतापुर्वक कसैले पनि सचेत गराएनन्। तर म आज स्पष्टरुपमा भन्छु – यसो गरेर जिन्दगी बिताउनु गलत मात्र होईन, आफुले आफ्नो जिन्दगी र समय बर्बाद गर्नु पनि हो ।

आफु स्वयं, परिवार, समाज र राष्ट्रलाई धोखा दिनु र बर्बादको बाटोमा जानीबुझी वा अन्जानमा पुर्याउनु पनि हो । चित्त नबुझेको विषयमा बिरोध गरौं तर त्यस्को विकल्प दिने योग्यता, क्षमता र आँटको विकास र दृढ संकल्प पनि साथसाथै गरौं ।

किनारामा उभिएर केवल क्षणिक लोकप्रियताको लागि देखावटी हल्ला गर्दैमा फोहोरको डंगुर सफा हुँदैन । बिरोध मात्र गर्नु कुनै पनि समस्याको समाधान होईन, विकल्प दिन सक्नु वा विकल्प हुन सक्नु समाधान हो ।

यो अत्यन्त जोखिमपुर्ण हुन्छ र यसमा मेहनत, धैर्य र लगनशीलता पनि धेरै धेरै नै चाहिन्छ । यो सबैको क्षमता र रूचिको विषय नहुन पनि सक्दछ ।

संसार बदल्नु छ भने वा समाजमा परिवर्तन गर्नु छ भने विकल्प दिने वा विकल्प बन्न सक्ने आँट, धैर्यता र क्षमता चाहिन्छ । आफ्नो वा अरुको दलिनमा बसेर वा चोक चौतारामा बसेर कसैको खिल्ली उडाएर, बिरोध मात्र गरेर, मजाक बनाएर, चाकडी गरेर, महिमागान गाएर, चुप लागेर बसेर, जीहजुरी गरेर वा कुरा काटेर समाजमा न्यायोचित परिवर्तन कहिल्यै पनि आउदैन ।

विकल्प बनेर वा विकल्प दिएर वा नयाँ आविष्कार गरेर मात्र समाजमा न्यायोचित परिवर्तन संभव छ । अरु कसैले आएर कुनै समय गरिदेला भनेर पर्खेर बसेर पनि परिवर्तन संभव छैन ।

यो हामीले नै गर्ने हो, हाम्रो लागि नै गर्ने हो र अहिल्यैबाट शुरु गर्ने हो भनी दृढ मानसिकताले काम आरम्भ पनि गरि हाल्ने हो भने परिवर्तन संभव छ र हुन्छ । आऔं, हामी सबैले बिरोध मात्र गर्ने वा महिमागान गाउने वा चुप लागेर बस्ने वा जीहजुरी गर्ने वा चाकडी मात्र गर्ने संस्कार त्यागौं र विकल्प दिने वा विकल्प बन्ने वा नयाँ आविष्कार गर्ने संस्कार बसालौं ।

बिरोध गरेर मात्र होईन, विकल्प बनेर परिवर्तन संभव हुन्छ । समाजमा ‘परिवर्तन’ गर्नको लागि ‘विकल्प’ बनौं । भिख मागेर वा बिन्ती गरेर समाजमा न्यायोचित ‘परिवर्तन’ आउदैन । हामी दृढतापुर्वक ‘विकल्प’ बनौं, ‘परिवर्तन’ स्वभाविकरुपमा हामीबाटै संभव छ ।

  • कल्याण गुरुङ, नेपाली कांग्रेस – केन्द्रीय सदस्य

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार