प्रचण्डलाई धुँदाधुँदा साबुन-स्याम्पु धेरै खर्च भयो- प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी ओली ३ वर्षमा आफ्नो साबुन र स्याम्पु धेरै खर्च भएको तर प्रचण्ड ओलीलाई सफा गर्न नसकिएको कटाक्ष गरेका छन् । केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन् ।

‘षड्यन्त्रकारी प्रवृत्ति छोड्नुस् भनेर मैले उहाँलाई सम्झाएँ। राजनीति धोका मात्र होइन इमान्दारिताका साथ जनताका सेवा गर्नू हो भनेँ,’ उनले भने, ‘तीन वर्षमा डल्लाका डल्ला साबुन र स्याम्पु खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।’

उनले आफूविरुद्ध गुट बनाएर बहुमत आफ्नो स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए । आफूले पार्टी एकता गर्दा माधव नेपाल र प्रचण्ड मिल्दा बहुमत पुग्छ भन्ने थाहा हुँदाहुँदै एकता गरेको ओलीले बताए।

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको टिप्पणी गरेका छन् ।

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।’

सरकारका कामकारवाहीमा प्रचण्डले सहयोग नगरेको उनको भनाइ छ। आजित भएर आफूले संवैधानिक परिषद अध्यादेश ल्याएको ओलीको जिकीर छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार