ओली समूहको केन्द्रीय कमिटी बैठक गृहमन्त्री थापा सहित बालुवाटारमा

काठमाडौँ, ९ पुस – नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ । प्रतिनिधिसभा विघटनपछि ओली समूहको आज दोस्रो केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा पूर्वमाओवादी समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी भएको केन्द्रीय सदस्य बद्रिविशाल पोखरेलले जानकारी दिए ।

आजको बैठकले सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा अध्यक्ष ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।

अल्पमतमा परेको ओली समूहको गत मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको थियो । एकीकरणको ३२ महिनापछि नेकपा अन्ततः विभाजनमा गएको छ । तर, यसलाई औपचारिक घोषणा गरिएको छैन ।

गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सुरू भएको नेकपाको संकट अन्ततः फुटको औपचारिक तहमा पुगेको छ ।

ओली पक्षले सम्झौतामा संकट टार्ने र दाहाल-नेपाल पक्षले ओलीलाई पदच्युत गर्ने परस्पर दाउकाबीच पछिल्ला १० महिना गुज्रिए पनि नेकपामा विभाजन अब अवस्यम्भावी भएको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएर पार्टी विवाद साम्य पार्न तयार रहेको सन्देश दिएको दुई दिनमै  ओलीले गत आइतबार (पुस ५ मा ) प्रतिनिधिसभा विघटन गराएपछि नेकपा विभाजनको औपचारिक प्रक्रियामा प्रवेश गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार