विश्वको दोस्रो सर्वोच्च शिखरमा नेपालीको पहिलो पाइला, बन्यो इतिहास

काठमाडौं, ४ माघ – विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको केटुमा पहिलो पटक नेपालीले पाइला टेकेका छन् । अहिलेसम्म कसैले पनि यो शिखरमा हिउँदमा पाइला राख्न पाएका थिएनन् । १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रच्ने क्रममा पाकिस्तानी समयअनुसार शनिबार साँझ ५ बजे  ८ हजार ६ सय ११ मिटर अग्लो केटुको सफल आरोहण गरेको हो ।

गत साता स्पेनका एक पर्वतारोहीले आरोहणको असफल प्रयास गरेका थिए । हिमाल चढ्ने क्रममा उनको चिप्लिएर ज्यान गएको थियो । पाकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमालमा सफल आरोहण गरेको टीमका एक सदस्य निर्मल पुर्जाले सामाजिक संजालमार्फत बताएका हुन् ।

उनले भनेका छन्, ‘मानव जातिको इतिहासको हिस्सा भएकोमा हामीलाई गर्व छ । साथ मिलेर र एक सकारात्मक मानसिकताले सीमाहरुलाई पनि तोड्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’

यो हिमाल पर्वतलाई सबैभन्दा खतरनाक हिमाल मानिन्छ । सुरुमा नेपाली पर्वतारोहीको चारवटा टीम पर्वतारोहणका लागि निस्किएको भए पनि अन्तिममा ६० मध्ये १० जनाले मात्र सफल आरोहण गरेका हुन् ।

शिखरभन्दा १० मिटर तल टिम जम्मा भएर नेपालको राष्ट्रिय गीत गाउँदै हिमाल चढेको फुर्वाले लेखेका छन् । १० जनामा पुर्जासहित मिग्मा डेभिड शेर्पा, मिग्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा टेम्बा शेर्पा, मिग्मा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्मा र सोना शेर्पा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार