ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने प्रचण्ड–माधव पक्ष नेकपाको निर्णय

काठमाडौँ, ११ माघ – नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले असंवैधानिक गतिविधिलाई निरन्तरता दिएको भन्दै ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको स्रोतले बताएको छ ।

यसअघि माघ २ मा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाउँदै तीन दिनको समय दिएका थिए । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि बहुमत पक्षको नेकपाले निरन्तर जनपरिचालनलगायतका विरोध कार्यक्रम अगाडि बढाउँदै आएको छ । यसअघि नै पुस ७ गते बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको थियो।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार