संसद विघटनको विरोधमा कांग्रेसद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, ३० गते देशव्यापी प्रदर्शन

भातृसंस्थाहरुको म्याद थपियो, क्रियाशील सदस्यताको फाराम ३० माघसम्म केन्द्रमा बुझाइसक्न जिल्ला समितिलाई निर्देशन

काठमाडौं, १३ माघ – प्रतिनिधि सभा विघटन बिरुद्ध नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।  कांग्रेसले मंगलबार बसेको केन्द्रीय समिति बैठकमार्फत पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले सम्पन्न भइसकेका संघर्षका कार्यक्रमको समीक्षा गर्दै संसद विघटन बिरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए ।

तेस्रो चरणका आन्दोलनमा भातृ तथा शुभेच्छुक संस्थालाई अघि सार्ने नीति कांग्रेसले लिएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यस अघि प्रतिनिधि सभा विघटन बिरुद्ध पहिलो चरण अन्तर्गत कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आन्दोलन गरेको थियो । यस्तै दोस्रो चरण अन्तर्गत २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो ।

कांग्रेसले मंगलबार बसेको केन्द्रीय समिति बैठकबाटै म्याद सकिएका भातृ संगठनहरुको म्याद फेरी थप गरेको छ । सहमहामन्त्री महतका अनुसार नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघसहित म्याद सकिएका भ्रातृसंस्थाहरुको म्याद सकिएको मितिले ६ महिना थप गर्ने निणर्य बैठकले गरेको हो ।

मंगलबारको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशनका बारेमा समेत छलफल भएको छ । छलफलका क्रममा जिल्लामा वितरण भइरहेका क्रियाशील सदस्यताको फाराम ३० माघसम्म केन्द्रमा बुझाइसक्न जिल्ला समितिलाई निर्देशन दिने निणर्य समेत कांग्रेसले गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्ने तथा विरोध प्रदर्शनमा सहभागिहरु प्रति दिदै आएको अभिव्यक्ति प्रति समेत कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत नै आपत्ति जनाएको छ । यसैगरी प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइको बहसमा सहभागीहरु प्रति आएको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति समेत कांग्रेसले आपत्ति जनाएको छ भने नागरिक अगुवाहरुमाथि आन्दोलनका क्रममा गरिएको निर्मम व्यवहारप्रति समेत कांग्रेसले आपत्ति प्रकट गरेको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार