नेकपा उपाध्यक्ष वामदेव गौतमको नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा

काठमाडौं, १४ माघ – नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन् । बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा पत्रकार सम्मेलन गर्दै गौतमले अहिले नेपालका सम्पूर्ण श्रमजीवी जनता,लाखौं पार्टी सदस्यहरु, हजारौं कार्यकर्ता र नेताहरु पार्टी विभाजन नहोस् भन्ने पक्षमा भएको बताए ।

उनले एकता अभियानको मूल उद्देश्य विभाजित नेकपाका दुबै समूहलाई पुनः एकतामा ल्याउन रहेको भन्दै गौतमले साथसाथै पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको जानकारी दिए ।

गौतमले अनौपचारिक रुपमा विभाजित दुवै पक्षलाई एकतामा आउन आह्वानसमेत गरेका छन् ।

‘प्रिय कमरेडहरु, विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेको अवस्थामा पनि नेपालका परिवर्तनकारी जनताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई अमूल्य मत प्रदान गरी अत्यधिक बहुमतसहितको सरकार बनाउन र शक्तिशाली संगठनका रुपमा स्थापित गर्न ऐतिहासिक योगदान पुर्याएका हुन ।

जनताको यो अपार समर्थनमा धेरै धेरै आशा र विश्वासका किरणहरु रहेका छन् । तर पार्टी विभाजनको क्रियाकलापले उनीहरुको आशा र विश्वासमा ठूलो धक्का पुगेको छ । विभाजनका कारण नेपालको संविधान बमोजिम लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने ऐतिहासिक कार्यभारबाट नेपाली जनता बञ्चित हुने अवस्थासमेत सृजना भएको छ । त्यसोभएर पार्टीलाई पुनः एकीकरण गर्न नेकपा एकता राष्ट्रिय अभियानमा संगठीत रुपमा जुट्नुहोस् !

तपाईहरु जुन ठाउँमा हुनुहुन्छ, त्यहीँ नेकपा एकता अभियानको नाममा संगठन खडा गर्नुहोस् । विभाजनमा लागेका कमरेडहरुलाई पुनः एकीकृत हुन अनुरोध गर्नुहोस् । तर,कुनै पनि समूहमारहेका नेता तथा कमरेडहरुलाई गालीगलौजको शैलीमा विरोध नगर्नुहोस् ।सबैलाई सम्मान गर्ने, कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस् ।

सामाजिक दुरी कायम गर्दै कोरोना महामारीबाट बच्न प्रत्येकले मास्क लगाएर एकता र्यालीमा सहभागी हुनुहोस । एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस् । एकतालाई पक्षपोषण गर्नेखालका लेख, रचना, गीत पत्रिका र अनलाइनमा प्रकाशन गर्नुहोस ।

एकतासम्बन्धीअन्य विषयबस्तुलाई सामाजिक सञ्जालमा पनि प्रेषित गर्नुहोस् । यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ ।’ अवधारणा पत्रमा भनिएको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार