खोप अभियानको दोस्रो दिन देशभर २८ हजार ७३२ जनाले खोप लगाए

काठमाडौं, १५ माघ – कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लामा कुल २८ हजार ७३२ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएको जानकारी दिएका हुन् ।

प्रदेश १ मा ३ हजार ८४७, प्रदेश २ मा २ हजार १७४, वाग्मती प्रदेश मा ११ हजार ४६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३०३, कर्णाली प्रदेशमा १ हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४१७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा. गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताए । बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए ।

देशभरका खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई पहिलो चरणमा खोप लगाउने लक्ष्य सरकारको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार