काठमाडौंमा बर्डफ्लु देखियाे नेपालमा कुखुराजन्य बस्तु आयातमा प्रतिबन्ध, साढे २५ सय हाँस, बट्टाई, कुखुरा र टर्की नष्ट

काठमाडौं, १८ माघ – काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ साङ्लेखोला, फुटुङमा बर्डफ्लु देखिएपछि साढे २५ सय पन्छी नष्ट गरिएको छ। पशु सेवा विभागका अनुसार स्थानीय कृषकले पालेका हाँस, बट्टाई, कुखुरा र टर्की नष्ट पारिएको हो।

बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिसकिएको विभागले जनाएको छ।

यस क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागले जनाएको छ।

रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।

सतर्कता अपनाउन चिकित्सकको सुझाव

चिकित्सकहरूले बर्डफ्लूबाट विगतमा मानिसको मृत्युसमेत भएकाले भरसक मासु तथा मासुजन्य खाने कुरा नखान तथा खाए पनि राम्ररी पकाएर खान सुझाव दिएका छन् ।

भारतमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतको एचफाइबएनएइट स्ट्रेन बर्ड फ्लू पत्ता लागेसँगै नेपालमा पनि बर्डफ्लू देखापरेको हो । चिकित्सकहरूका अनुसार नेपालमा यही स्ट्रेनको भाइरस पहिलो सन् २०१७ मार्च महिनामा देखिएको थियो।

सन् २०१९ मा बर्ड फ्लु भाइरसकै कारण नेपालमा २१ वर्षीय युवकको मृत्युसमेत भइसकेकाले यसबाट जोगिन उच्च साबधानी अपनाउन सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले आग्रह गरेका छन् । विश्व स्वास्थ संगठनका अनुसार मानिसलाई संक्रमण गरे बर्ड फ्लुबाट हुने मृत्युदर ६० प्रतिशतसम्म छ ।

संक्रमण हुँदा के हुन्छ ?

बर्ड फ्लु भाइरसले संक्रमण गरे उच्च ज्वरो, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने जस्ता मुख्य लक्षणहरु देखिने डा.पुनले बताए । पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्ने जस्ता थप अरू लक्षणहरु पनि देखिन सक्ने र अन्त्यमा श्वासप्रश्वासमा अवरोध तथा निमोनिया समेत हुनसक्ने भएकाले शंका लागिसक्दा परीक्षण गर्न उनले सुझाएका छन् ।

यसको लक्षण पनि कोभिड-१९ सँग मिल्दोजुल्दो छन् । यसको परीक्षण पनि पीसीआर प्रयोगशालाबाटै गर्न सकिने विज्ञहरूले जनाएका छन् ।

 

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार