आज ७१ औं प्रजातन्त्र दिवस, १०४ वर्षे जहानियाँ राणाशासन अन्त्य भएको दिन

५ सय बढी कैदीबन्दीको सजाय मिनाहा, १५ जनालाई आममाफी

काठमाडौँ, ७ फागुन – आज ७१ औं प्रजातन्त्र दिवस । १०४ वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्रको उज्यालो किरण छाएको दिन फागुन ७ गतेको स्मरणमा आज देशभर हर्षोल्लासपूर्वक प्रजातन्त्र दिवस मनाईंदैछ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो। फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ ।  नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ ।

५ सय बढी कैदीबन्दीको सजाय मिनाहा, १५ जनालाई आममाफी

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

यस्तै आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिइएको छ ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

यसैगरी सुरेन्द्र भनिने सालिन्द्र यादवसमेतका १५ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार