अन्तर्राष्ट्रिय विमानस्थल छेवैको ९१ रोपनीमा होटल बनाउन दिने तयारी

काठमाडौँ, १६ फागुन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै सरकारले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा रहेको करिब ९१ रोपनी जग्गा ३० वर्षका लागि व्यापारीलाई भाडामा दिने तयारी थालेको छ ।

विमानस्थल सुरक्षालाई ख्याल गर्दै पञ्चायतकालमा सर्वसाधारणबाट समेत अधिग्रहण गरिएको करिब १५ रोपनीसहित ९१ रोपनी ६ आना २ दाम जग्गा होटल खोल्न व्यापारीलाई दिन लागिएको हो ।

भाडामा दिन विमानस्थलको बाहिरी सुरक्षाका लागि २०६४ फागुनबाट उक्त जग्गामा बस्दै आएको सशस्त्र प्रहरी बल विपत् उद्धार गण (साविक उपत्यका सुरक्षा गण) लाई हटाउन लागिएको छ । ‘सरकारअनुकूल व्यक्तिलाई भाडामा दिन टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उक्त जग्गा ३० वर्षका लागि निजी क्षेत्रलाई होटल खोल्न दिन लागिएको स्वीकार गरे । सुरक्षा विज्ञहरूले भने प्राधिकरणको यो तयारीप्रति आपत्ति जनाएका छन् ।

यो जग्गा सिनामंगल चोकबाट मूल सडक हुँदै तीनकुने/गैरीगाउँतर्फ लाग्दा सडक किनारादेखि दायाँतर्फ पर्छ । पूर्वतर्फ अवस्थित अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग यो ठाउँको ‘फायरिङ रेञ्ज’ भित्र पर्ने भन्दै सुरक्षाविद्ले संवेदनशील ठाउँ व्यापारिक प्रयोजनका लागि भाडामा दिनु गलत हुने बताएका हुन् । सशस्त्रलाई गोठाटारतर्फको एक छेउमा सारेर उक्त ठाउँमा होटल खोल्न दिने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाइँदै छ ।

२०६१ साउन ३२, २०६२ फागुन १२ र चैत १० सहित विभिन्न मितिका मन्त्रिपरिषद् र मन्त्रालयस्तरीय निर्णयबाट मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा प्राधिकरणका नाममा दर्ता गरेको थियो । पछि विमानस्थलको बाहिरी सुरक्षाका लागि २०६४ फागुन ३ मा त्यही ठाउँको ९७ रोपनी ११ आनामा सशस्त्र प्रहरी उपत्यका सुरक्षा गण स्थापना गरिएको थियो । यस जग्गाको केही भागमा अहिले प्राधिकरणको एउटा युनिट र हवाई संग्रहालय छ । २०६१ अघिसम्म यो जग्गा सार्वजनिक/पर्ती थियो ।

नेपाल राजपत्रमा २०३० साउन ८ गते प्रकाशित सूचनाबमोजिम विमानस्थलको ट्रान्समिसन स्टेसन विस्तारका लागि सरकारले करिब ४७ वर्षअघि १४ रोपनी १३ आना १ पैसा अधिग्रहण गरेको थियो । त्यहीमध्येको कित्ता नम्बर २९–सिट नम्बर १०२–११४७–१० को ४ रोपनी ४ आना ३ पैसा र कित्ता नम्बर ३ को ९३ रोपनी ७ आना जग्गामा सशस्त्र प्रहरी उपत्यका सुरक्षा गण स्थापना गरिएको हो । सरकारी जग्गामा होटल सञ्चालन गर्न दिनकै लागि सशस्त्रलाई त्यहाँबाट अन्यत्र सार्ने तयारी पर्यटन मन्त्रालयले गरिरहे पनि गृह र पर्यटनबीच कुरा मिलिसकेको छैन ।

विमानस्थल सुधारसम्बन्धी फ्रान्सेली कम्पनी एडीबीआईले बनाइरहेको गुरुयोजनामै उक्त जग्गामा पाँचतारे ‘एयरपोर्ट होटल’ सञ्चालन गर्ने प्रावधान समेट्ने तयारी छ । यो तयारीमा सेना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले सुरक्षा संवेदनशीलतालाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । एडीबीआईले अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अन्तिम चरणमा पुगेको जानकारी प्राधिकरणलाई दिइसकेको छ ।

पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले सिनामंगलस्थित विमानस्थल अगाडिको जग्गा निजी क्षेत्रबाट होटल सञ्चालन गर्ने गरी लिजमा उपलब्ध गराउने विषयमा मन्त्रालय र प्राधिकरणका विभिन्न बैठकमा छलफल भइरहेको बताए । ‘तर यस विषयमा प्राधिकरणबाट निर्णयका लागि मन्त्रालयमा कुनै औपचारिक अनुरोध भएको छैन,’ उनले भने ।

यसअघि यो विषयमा पर्यटनमन्त्री अध्यक्ष रहेको नागरिक उड्डयन सुरक्षा समिति बैठकमा पनि छलफल भएको थियो । त्यस छलफलमा प्राधिकरणका तर्फबाट महानिर्देशक पोखरेलले होटल सञ्चालन गर्नेबारे प्रस्ताव पेस गरेका थिए । तर त्यो प्रस्ताव बाहिर आएको छैन ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार