सरकारमा सहभागिताबारे कांग्रेस जनअपेक्षा अनुसार अघि बढ्छ- प्रवक्ता शर्मा

काठमाडौँ, २० फाल्गुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा सहभागिताका बारेमा एकताका साथ जनताको अपेक्षा अनुसार नै निर्णय गर्ने जनाएको छ । बिहीवार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले जनअपेक्षा र संविधान अनुसार नै उपयुक्त समयमा सरकारका बारेमा निर्णय लिइने जनाएको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार संसदीय दलले निर्णय नगरी अहिले नै सबै कुरा भन्न नमिल्ने बताए । उनले शुक्रबार संसदीय दलको बैठक बसेर सवै बिषयको निर्णयमा पुगिने तर्क गरे । यसपल्ट इन्जुरी टाइममा गोल गर्ने उनले बताए ।

बैठकमा संवैधानिक, राजनीतिक कोण, संविधानको हित लगायतका विभिन्न कोणबाट पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको उनले बताए । स्रोतका अनुसार सरकारको नेतृत्वको जिम्मेवारी पाए कांग्रेस अघि बढ्नुपर्ने पदाधिकारी र पूर्वपदाधिकारीको सुझाव छ ।

त्यस्तै प्रवक्ता शर्माले विप्लव समूहसँग सरकारको सहमति सकारात्मक रहेको भन्दै त्यसका सहमतिबारे जानकारी नआएकाले यस बिषयमा पछि टिप्पणी गर्ने बताए । उनले संविधानको परिधिभित्र रहेर सरकार र बिप्लव समूह समस्याको समाधान गर्नेतर्फ उन्मुख हुनुपर्ने जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार