‘लोकप्रियतापछि केपी ओलीमा व्यक्तिवादी र स्वच्छन्दतावादी प्रवृत्ति चुलियो’

काठमाडौं, ४ चैत्र – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति बढ्दै गएको बताएको छ ।

बुधबार ललितपुरको सानेपामा भएको राष्ट्रिय कार्यकर्ता भेलामा  प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘वस्तुतः नाकाबन्दीको सामना गरेको सरकारको प्रधानमन्त्रीका रुपमा कमरेड के पी ओलीको लोकप्रियता बढेपछि उहाँमा व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गएका थिए ।

उहाँ सरकारमा भएको र सरकार लोकप्रिय नै भएको हुँदा अध्यक्षका रुपमा पार्टी सञ्चालनमा उहाँका कमजोरी ओझेलमा परेका थिए । नेकपा एमाले सरकारबाट बाहिर आएपछि नेकपा माओवादी केन्द्रसँग नेकपा एमालेको सम्बन्ध बिग्रिँदै गयो, तिक्तता बढ्दै गयो ।

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नेपाली काङ्ग्रेसँग तालमेल गर्यो । कम्युनिष्ट पार्टीहरु बीच सहकार्य गर्न सकेको भए त्यसले स्थानीय तहमा अझ व्यापक वामपन्थी आधार बनाउँथ्यो । हामीले त्यो अवसर गुमायौँ।’

नेकपा एमालेको तर्फबाट वामपन्थी गठबन्धनको एउटा नेताका रुपमा अध्यक्ष ओलीले पार्टीको सबै शक्ति आफ्नो हातमा लिँदै हुनुहुन्थ्यो, प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारीमा उहाँले चरम गुटबन्दीको प्रदर्शन गर्नु भएको थियो र पार्टी स्थायी कमिटीमा त्यसको आलोचना पनि भैरहेको थियो तर वामपन्थी सहकार्यको पक्षमा उर्लेको जनताको समर्थनको दुरुपयोग गर्दै उहाँले पार्टीमा बलमिच्याईँ गरिरहनु भयो।

निर्वाचन परिणाम कम्युनिष्ट पार्टीको पक्षमा आयो। नाकाबन्दीका विरुद्ध नेपाली जनताको नेतृत्व गरेको, चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर नेपालको चीर प्रतिक्षित आकाङ्क्षालाई सम्बोधन गरेको, वाम गठबन्धनद्वारा मुलुकमा बहुमतको स्थीर सरकार बनाउन नेतृत्व गरेकोजस्ता कारणले कमरेड ओली र पार्टीको लोकप्रियता अक्कासियो।

वामपन्थी सरकारको प्रधानमन्त्रीका रुपमा कमरेड ओलीको पुनरागनमले मुलुकलाई एउटा राष्ट्रिय आशा जगायो। गैर कम्युनिष्ट वौद्धिक जनमतले समेत सरकारको पक्षमा खुलेर समर्थन गर्‍यो। कमरेड ओलीमा अझ बढी आत्मगौरव बढ्यो।

एक्लै निर्णय गर्ने उहाँको कार्यशैली अझ बढ्यो। पार्टी एकता ढिलो हुँदै गएको थियो। तर पार्टीमा छलफल हुन छाडेको थियो। यसै बीच पहिलेझैँ उहाँले नेकपा केन्द्रसँग पार्टीको सिद्धान्त, नाम, सङ्गठनात्मक व्यवस्थालगायत कैयन् विषयमा एकलौटी सम्झौता गर्नु भयो र अचानक पार्टी एकताको प्रस्ताव सुनाउनुभयो।

पार्टीको कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीसमेत नेकपाका दुईजना अध्यक्षका रुपमा कमरेड के पी ओली र प्रचण्डले आलोपालो गर्ने गोप्य सम्झौतासमेत गर्नु भयो। यसरी एकातिर कम्युनिष्ट आन्दोलनले ऐतिहासिक उपलब्धीहरु प्राप्त गर्ने सम्भावनाका ढोकाहरु खुल्दै गएका थिए भने त्यसको नेताका रुपमा कमरेड ओलीको व्यक्तिकेन्द्रित चरम गुटबन्दी पूर्ण कार्यशैलीले क्रमशः पार्टीलाई समस्याग्रस्त बनाउँदै गयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार