होम आइसोलेसनमा बसेका संक्रमितलाई जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेका १६ सुझाव

काठमाडौँ, १७ बैशाख – कोरोनाको दोस्रो लहरले हरेक दिन संक्रमित बढेपछि अब संक्रमितले अस्पताल भरिएको भन्दै स्वास्थ्य मन्त्रालयले सर्बसाधारणलाई सतर्क हुन अपिल गरेको छ ।

२२ जिल्लामा त अस्पतालमा बेड उपलब्ध नभएको र स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरि संक्रमण बढेको स्वास्थ्य मन्त्रालयले बताएको छ । शुक्रबारको मन्त्रालयको अपडेट अनुसार नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ८१३ पुगेका छन् । जसमा संस्थागत आइसोलेसनमा २ हजार ६७८ जना रहेका छन् भने होम आइसोलेसनमा ३६ हजार १३५ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ३३१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने ११५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसरी अहिले देशभर ३६ हजार भन्दा बढी होम आइसोलेसनमा रहेका बेला जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले १६ सुझाव दिएका छन् ।

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला ।  ९८ –९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोला ।  शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला । यसले फोक्सोको क्षमता बढाउछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला । आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला ।  यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ ।  तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला । अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन ।  यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला । यसपटकको प्रजाति निकै संक्रामक छ ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

११. पानीको बाफ लिंदा आराम हुन्छ ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला । नआत्तिनुहोला ।

१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक संजाल नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि  कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार