कांग्रेस नेताहरूलाई भेटेर ओलीले मागे सहयोग, ‘सहयोग गर्ने अवस्था छैन कांग्रेसका सभापति देउवा

काठमाडौँ, २२ बैशाख –  प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूलाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली एमाले नेताहरूसहित दिउँसो साढे ४ बजे देउवानिवास बुढानीलकण्ठ पुगेका थिए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर, जवाफमा कांग्रेस नेताहरूले विश्वासको मत दिन नसक्ने स्पष्ट जवाफ दिएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

‘लोकतन्त्रका लागि सँगै लडेका हौँ, मलाई विश्वासको मत दिनुहोस्, सहकार्य गरेर अगाडि जाऔँ,’ भेटमा प्रधानमन्त्री ओलीले भनेको उद्धृत गर्दै डा. महतले सञ्चारकर्मीहरूसँग भने, ‘तर, हामीले उहाँको प्रस्तावलाई स्पष्ट अस्वीकार ग¥यौँ । तपाईंले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने काम गरिरहनुभएको छ । हामी तपार्इंलाई विश्वासको मत दिन सक्दैनौँ भनेर स्पष्ट भन्यौँ ।’

भेटमा कोरोना महामारी र त्यसका कारण मुलुकमा निम्तिएको संकटका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको डा. महतले बताए । भेटका लागि प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत बुढानीलकण्ठ पुगेका थिए ।

नेताहरूबीच डेढ घन्टा छलफल भएको थियो । तर, भेटपछि प्रधानमन्त्री ओलीसहित एमाले नेताहरू भने विनाप्रतिक्रिया बाहिरिए । भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइरालालगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले विशेष अधिवेशनमार्फत २७ वैशाखमा विश्वासको मत लिँदै छन् । कांग्रेसले भने ओलीलाई विश्वासको मतमा असफल बनाउने निर्णय गरिसकेको छ ।

मंगलबार मात्रै कांग्रेसका शीर्ष नेताहरूको बैठकले ओलीलाई विश्वासको मत नदिने, विश्वास मतमा असफल बनाउनका लागि अन्य राजनीतिक दलहरूसँग छलफल गर्ने र आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पहल गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार