युरो कप : आजदेखि क्वाटरफाइनलका खेल, पहिलो खेल स्वीट्जरल्याण्ड र स्पेन भिड्दै

काठमाडौं, १८ असार- युरोकप २०२० अन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुँदैछन् । पहिलो क्वाटरफाइनलमा स्वीट्जरल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँनेछ ।

खेल रुसको सेन्ट पिटर्सवर्गमा  हुने खेलमा नेपाली  समय अनुसार राति ९:४५ बजे खेल पहिलो पटक युरोकपमा क्वाटरफाइनल खेल्न लागेको स्वीट्जरल्याण्ड र सर्वाधिक तीन पटकको विजेता स्पेनबीच  शुरु हुनेछ ।  विजेताले बेल्जियम र इटलीबीचको विजेतासँग खेल्नेछ ।

साविक उपविजेता तथा विश्व विजेता फ्रान्सलाई प्रिक्वाटरफाइनलमा पराजित गरेको स्वीट्जरल्याण्ड राम्रो लयमा देखिएको छ ।

स्वीट्जरल्याण्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको थियो । अर्कोतर्फ स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले पराजित गरेको थियो । दुवै खेल निर्धारित समयमा ३–३ को बराबरीमा सकिएको थियो ।

तर स्वीट्जरलयाण्डका कप्तान ग्रान्ट जाका लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले स्पेन विरुद्ध खेल्न पाउने छैनन् । उनको स्थानमा जाकारियाले खेल्ने सम्भावना छ ।स्वीट्जरल्याण्ड ६७ वर्षपछि पहिलो पटक ठूलो प्रतियोगितामा क्वाटरफाइनल खेल्दैछ । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।

सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेन २०१६ को युरोमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकपको उपाधि जितेको थियो ।

युरोकपमा स्पेन र स्वीट्जरल्याण्ड पहिलो पटक खेल्न लागेका हुन् । सन् २०२० मा यूईएफए नेसन्स लिगमा दुई पटक भेट हुँदा भने स्पेनले एक खेल जितेको थियो र अर्को खेल बराबरीमा सकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार