गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधनमा प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, ३१ असार –  कांग्रेसकानेता तथा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ । गाउँपालिका अध्यक्ष थापाको बिहीबार बिहान ९ बजे ललितपुरको ब्लड अस्पताल काठमाडौंमा निधन भएको हो ।

विगत चार महिनादेखि फोक्सोको रोगबाट पीडित थापाको आज बिहान ७४ वर्षको उमेरमा निधन भएको थियो । २००४ सालमा जन्मीएका थापाले तत्कालिन नेपाली कांग्रेका नेता मोहनसिंह थापाको कमाण्डमा भएको सशस्त्र संघर्षमा १४ वर्षको कलिलो उमेरमै हतियार उठाएका थिए ।

राणा विरोधी आन्दोलनमा लागेका गुल्मी दरबारका थापा परिवारलाई शहिद परिवार भनेर चिनिने गरिन्छ । उहाँ शहिद गंगाबहादुर थापाकाे माइलाे छाेरा हुनुहुन्थ्याे । आफ्ना बाबुको प्रेरणाबाट कांग्रेस राजनीतिमा लागेका थापा २०१८ को सशस्त्र संघर्षपछि भारत प्रवासमा गई देहरादुनबाट उच्च शिक्षा हासिल गर्नुभएकाे थियाे ।देहरादुनबाट फर्किएपछि आफ्नै जन्मभुमिमा रहेको इश्वरी माध्यमिक विद्यालयमा लामो समय शिक्षण पेशा गर्दै राजनैतिक तथा सामाजिक क्षेत्रमा कृयासिल हुनुहुन्थ्याे ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका थापा गुल्मी जिल्ला विकास समितिको इलाका सदस्य हुँदै हाल गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष हुनुहुन्थ्याे । उहाँ समग्र  गुल्मी जिल्लाकै साझा लाेकपृयनेताका रुपमा उदयीमान हुनुहुन्थ्याे ।

थापालाई श्रद्धाञ्जली अर्पण गर्नका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, चन्द्र भण्डारी, गुरु घिमिरे नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, पूर्व सभापति चन्द्र केसी, प्रदेश सभाका उम्मेदवार धनेन्द्र कार्की, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि मोहन ज्ञवाली, महासमिति सदस्य भरत बस्नेत लगायत भातृस‌स्थाका नेता कार्यकर्ताको ठूलो भीड लागेको थियो ।

थापाको पार्थिव शरीरलाई जन्म स्थान गुल्मी चारपाला लगेर श्रद्धाञ्जली दिएपछि गुल्मी कांग्रेसको पार्टी कार्यालय लैजाने कार्यक्रम रहेको  नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठले जानकारी दिएका छन् । पार्टी कार्यालयको श्रद्धाञ्जली कार्यक्रमपछि गुल्मी दरबार गाउँपालिकाको कार्यालयमा लगेर पवित्र पुण्य भूमि कालीगण्डकीको किनारमा अन्त्यष्टी गर्ने कार्यक्रम रहेको छ । स्वर्गीय थापाका एक श्रीमती र चार छोरा रहेका छन् ।

स्वर्गीय थापाको निधन प्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति  तथा  प्रधानमन्त्री शेरबहादुर देउवाले  दुःख व्यक्त गरेका छन् । शोक सन्देशमार्फत थापाले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदानको स्मरण गर्दै उनमा श्रद्धाञ्जलि अर्पणका साथ  शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

त्येसै गरी एमाले सांसद प्रदीप ज्ञवालीले गुल्मी दरवार गाउँपालिका र समग्र जिल्लाको विकासमा सक्रिय राजनैतिक तथा सामाजिक व्यक्तित्वकाे निदनले गुल्मी जिल्लालाइ अपुरणिय क्षति पुगेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार