गृहमन्त्रीद्वारा गायिका सुनिता र गायक प्रकाशलाई दूतमा नियुक्त

काठमाडौं, १२ श्रावण – नेपाली कांग्रेस नेतृत्वको सरकारले विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतलाई नियुक्त गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले दुलाल र सपुतलाई एकवर्षका लागि विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा गायिका दुलाल र गायक सपुतलाई सद्भावना दूत नियुक्त गरिएको छ । कांग्रेसले कलाकारहरूको सम्मानका लागि यो कदम उठाएको चर्चा भएको छ । विपद जोखिम सचेतनाको लागि गत वर्ष भिडियो सामग्री तयार पारेका उनीहरुलाई विपद् न्यूनीकरण गर्न रचनात्मक सहयोग गरेको भन्दै सद्भावना दूत नियुक्त गरेको छ ।

गायक सपुतले भनेका छन्, ‘एउटा सामान्य व्यक्ति र कलाकारको हिसाबले यो एउटा ठूलो उपलब्धि र गौरबको अनुभव हो ।’ ‘एउटा नागरिकको हिसाबले यसलाई महत्वपूर्ण जिम्मेवारी र कर्तव्यको रुपमा लिएको छु’, सपुतले भने, ‘प्राकृतिक विपत्तिजस्तो संवेदनशिल क्षेत्रको कार्यसम्पादनका लागि नेपाल सरकारको एउटा आधिकारिक निकायले औपचारिक रुपमा कलाकारहरूसँग सहकार्य गरेकोमा सम्बन्धित सबैमा आभारी छु ।’

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सरकार, निजी क्षेत्र, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था तथा समुदायको भूमिका महत्वपूर्ण रहने कुरा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा उल्लेख छ ।

गीत संगीतको माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ ।

गीत संगीगतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि सचेतनामूलक सन्देश प्रवाहमा उनीहरूको भूमिका उल्लेखनीय रहने अपेक्षा सरकारले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार