साझा कार्यक्रमपछि मात्रै मन्त्रिपरिषद् विस्तार– सत्तारुढ गठबन्धनको निष्कर्ष

काठमाडौँ, १८ श्रावण – सत्तारुढ गठबन्धनले केही दिनभित्रै साझा न्यूनतम कार्यक्रम ल्याउने भएको छ । अघिल्लो सरकारले बजेट र दूरगामी योजनासमेत सार्वजनिक गरिसकेको अवस्थामा बनेको गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम ल्याउन लागेको हो ।

सोमबार बसेको गठबन्धनका शीर्ष नेताहरूको छलफलबाट पहिले साझा न्यूनतम कार्यक्रम तयार गरी त्यसलाई सार्वजनिक गर्ने र त्यसपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सहमति जुटेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको २१ दिन बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

देउवाले तत्काल मन्त्रिपरिषद् विस्तार गर्न चाहेको भए पनि सबै दलहरूबाट मन्त्री बन्नेको नाम फाइनल भइनसकेकाले पहिले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

साझा कार्यक्रम बनाउन बनेको कार्यदलले साझा न्यूनतम कार्यक्रमको ड्राफ्ट तयार गरिसकेको छ भने केही दिनभित्रै अन्तिम रूप दिने तयारी रहेको छ । सोमबारको छलफलमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार