श्रद्धा र पवित्रताको पर्व रक्षा बन्धन, साउन शुक्ल पूर्णिमा

वैदिक सनातन कालदेखिको चली आएको हाम्रो पूर्वीय दर्शन, संस्कार, संस्कृति र परम्परा अनुसार आज २०७८ साल भाद्र महिना ६ गते साउन शुक्ल पूर्णिमा तिथिमा तागाधारीहरुले ऋषितर्पणी जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाउने गर्छन् । यो पर्वलाई तीनवटा नामले सम्वोधन गरेको पाईन्छ । यसदिन बिहानै विधिविधान अनुसार स्नानगरी सप्तऋषि लगायत आफ्ना पितृलाई तर्पण दिने, मन्त्रेको नयाँ जनै धारण गर्ने र रक्षा बन्धनको डोरो बाँध्ने गरिन्छ । नमन्त्रेको जनै र डोरो धारण गर्न हुँदैन ।

नागपञ्चमी पर्व मनाएको धेरै दिन भएको छैन । आज अर्को पर्व मनाउँदै छौ । चाडपर्वको समय आएको छ । चाडपर्व आउदा उत्साह, आनन्द र खुशी लाग्नु स्वभाविकै हो । मानिस कोराना महामारीले ग्रसित र त्रसित छन् । वर्षा यामको वाढी पहिरोले धेरै धनजनको क्षति भएको छ । कतिपय घरवार विहीन भएका छन् । तैपनि हामी चाडपर्व उत्साहपूर्वक मनाउछौ । आफ्ना सन्तान, आफन्त,  इष्टमित्रको अनुहारमा खुशी देख्न चाहन्छौ ।

नेपाली कृषक दाजुभाईहरु आफ्ना खेतिपाती लगाउने काम सकेर अब स्याहार-सम्भार गर्ने काममा तल्लीन हुने बेला आउदैछ । खेतका फाँटमा कतै धान हुर्कदै छ भने कतै फुल्न थालेको छ मकै फल्न थालेका छन् भने कोदोको गोडमेल गर्ने समय आएको छ । जताततै हरियाली छ । खोलानाला सुसाएका छन् । त्यसैले होला साउन महिनामा आँखा फुटेका गोरुले सधैँ हरियो देख्छ भन्ने उखान नै छ ।

हरेक जसो पर्वलाई हामी विजयोत्सवको रुपमा मनाउने गछौं । रक्षा वन्धनका सम्बन्धमा धार्मिक कथन अनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरबीच १२ बर्षसम्म लामो युद्ध चलेको थियो। युद्धमा असुरहरुले देवतामाथि विजय प्राप्त गरेका थिए ।

दानवद्वारा लखेटिएका पराजित देवगण धर्म एवं संस्कार विहिन भएर जीवन विताउन थाले । यसरी बाँच्नुभन्दा बरु मर्नु परेपनि ठीक हुने सम्झेर अर्थात मानसिक रुपमा मर्न समेत तयार भएर देवराज इन्द्रले असुरसँग अन्तिम युद्ध गर्ने संकल्प लिनुभयो। त्यो दिन श्रावण शुक्ल चर्तुदशीको दिन थियो ।

देवगुरु वृहस्पतिले इन्द्रको कल्याण एवं विजयको कामना गरी श्रावण शुक्ल पूर्णिमाको शुभ-लग्नमा इन्द्रलाई रक्षा बन्धन बाँधेर बल प्रदान गरेका थिए । यो रक्षा सुत्र थियो । यो युद्धमा देवराज इन्द्रको जीत भएको थियो ।

त्यसैअनुसार आजसम्म पनि गुरूहरूले शिष्यलाई येन बद्धो वलिः राजा दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चलः ।। (यसको अर्थः जुन रक्षा सुत्र (काँचो धागो) ले दानवहरुको महान राजा वलीलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ।)  भनी नाडीमा डोरो बाधिदिने गर्छन् ।

अर्को कथन अनुसार यमदूतले आफ्नो बहिनी यमुनासँग राखी बाँध्ने क्रममा जसले यस पवित्रताको प्रतीक राखी बाँध्छ उ यमदूतको सजाय अथवा भय, डर, त्रासबाट पनि मुक्त हुन्छ भनेका थिए। यी र यस्तै धार्मिक मान्यताका आधारमा सधै श्रावण शुक्ल पूर्णिमाको दिन रक्षा बन्धन गर्ने प्रचलन शुरु भएको जनविश्वास रहेकोछ ।

विशेषगरी भारतमा रक्षा बन्धनका दिन दिदी-बहिनीले दाजु-भाईलाई सुस्वास्थ्य दीर्घायु, उत्तरोत्तर प्रगति एवं सफलताको शुभकामना दिदै नाडीमा कलात्मक राखी बाँधी टिका लगाएर मिष्ठान्न भोजन गराउँछन् । दाजु-भाईले दिदी-बहिनीलाई केही उपहार वा दक्षिणा दिई उनीहरुको रक्षा गर्ने वचन दिन्छन् । यो चलन नेपालको तराई क्षेत्रवाट भित्रिएर विस्तारै बढ्दैछ ।

भाद्र शुक्ल पक्षको पञ्चमी तिथिका दिन नारीहरुले सप्तऋषिको पूजाआजा गरेजस्तै तागाधारी पुरुषहरुले जनै पूर्णीमाको दिन सप्तऋषिको पूजाआजा गरी तर्पण समेत दिने गर्छन् । माता पिता नभएकाले आफ्ना पितृलाई पनि तर्पण दिने गर्छन् ।

शुद्ध, पवित्र काँचो धागोलाई विधिविधानपूर्वक कात्ने बाट्ने गरी रक्षा बन्धन प्रयोजनका लागि बनाइएको डोरोलाई बेसार, गाईको दही, दुबो, गोबर, गहुँत, रायो, सरस्युँ, गंगाजल लगायत विधिविधान बमोजिमका सामाग्री सहितले मोलेर विधिपूर्वक वेदका मन्त्रले मन्त्रेर देवी देवताको पूजा गरेर १००८ वा १०८ पटक गायत्री मन्त्रले फुकेर रक्षा बन्धनका लागि धागो तयार गरिन्छ । रक्षा बन्धनका लागि प्रायः पहेंलो रङ्गको धागो तयार गरिन्छ । यस्तै रङ्गको धागो हुनुपर्छ भन्ने नभएता पनि पहेंलो र रातो रङ्गको डोरो वाँध्ने गर्छन् ।

गुरुहरुले आफ्नो घरमा रक्षा बन्धन गरिसकेपछि पवित्र धागो साथमा लगी यजमानहरुको घर घरमा गएर सबै जनालाई डोरो बाँधेर टिका लगाईदिई फूल प्रसाद दिने गर्छन । यजमानले गुरुलाई आफ्नो क्षमता, औकात अनुसारको दक्षिणा वा वस्त्र उपहार वा सीधा दिने वा खाना खुवाउने चलन छ । रक्षा बन्धनका लागि मावली र ससुराली जाने प्रचलन पनि रहेको छ । आज विशेष गरी केटाकेटीहरु एकदम खुशी र उत्साहित हुन्छन् । उनीहरु दुवै हातका नाडीमा डोरो बाँधी अरुकोभन्दा बढी बनाउनका लागि प्रयास गरेका हुन्छन।

रक्षाबन्धनमा धारण गर्ने पवित्र डोरोले मन, बचन र कर्मलाई पनि पवित्र बनाई सुख शान्ति प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । ईश्वरीय बन्धन काल्पनिक र सुखदायी बन्धन भएकाले रक्षाबन्धनले सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर पनि प्रदान गर्छ । जसले मानिसलाई नराम्रो काम गर्न, विचार राख्न खानपान गर्न र  नराम्रो चिन्तन मननबाट नियन्त्रण गर्छ । यसबाट आत्म अनुशासनको शिक्षा प्राप्त हुन्छ ।

रक्षा बन्धनका दिन बाँधिएको डोरोलाई तिहारसम्म नाडीमा राखी गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि वैतरणी नामको नदी तर्न गौ माताले सहयोग गर्ने जनविश्वास रहेकोले पूर्णिमाको दिनमा बाँधिएका डोरामध्ये कम्तीमा एउटा डोरो गाई तिहारको दिनसम्म राखेर गाईको पुच्छरमा बाँधिदिने चलन रही आएको छ ।

नेपाली शव्दकोषमा ब्राम्हण क्षत्रिय र वैश्य जातिले संकारपूर्वक धारण गर्ने सूत्र; तागा; यज्ञोपवीत ब्रम्ह-सूत्रलाई जनै भनी अर्थाइएको छ । व्रतबन्ध एउटा संस्कार हो । व्रतबन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ। जनै पूर्णीमाको दिन गुरुले नयाँ जनै लगाइदिई कर्म चलाउनका लागि कुनै साईत हेर्नु पर्दैन । यो दिन उत्तम मानिन्छ ।

नयाँ जनै लगाउँदा भन्ने मन्त्र,

यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।

आयुष्यमग्रयं प्रति मुञ्च शुभ्रं यज्ञोपवितं बलमस्तु तेजः ।।

 धर्मशास्त्र अनुसार सामान्यतया मानिसको आयु एकसय वर्षको मानिएको छ। पहिले पहिले छोरा पाँचवर्षमा प्रवेश गरेपछि व्रतबन्ध गरिदिने प्रचलन थियो । व्रतबन्ध गरी लगाइने जनैमा जम्मा ९६ काँचो मसिना धागा रहेका हुन्छन् । यी धागाले जीवनको वाँकी ९६ वर्षको अवधिलाई जनाउँछ भन्ने प्रचलन छ ।

काँचो धागो कातेर जोडेर अर्थात बाटेर जनै तयार गरिन्छ । काठको फिर्के, फिरफिरे, ताकुको सहायताले जनै तयार गरिन्छ । मधानी जस्तो सानो आकारको आफैले तयार गर्न सकिने एक किसिमको औजार हो यो । स्थान विशेष अनुसार स्थानीय नाम फरक हुन सक्छ ।

जनैलाई ब्रह्मसूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । एउटा जनैमा छवटा डोरा रहेका हुन्छन् । तीनवटा डोरालाई जोड्न एउटा शिखा बनाईन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।

जनै धारण गरेको व्यक्तिले दिसा पिसाब गरेर हात, गोडा, मुख सफा नगरुन्जेल सम्म जनै दायाँ कानमा राख्ने प्रचलन छ । यसलाई एउटा सूचकको रुपमा लिईन्छ । दाँया कानमा जनै राख्नाले शुक्रको रक्षा हुनुको साथै नराम्रो सपना देख्ने पुरुषले दाँया कानमा जनै राखेर सुतेमा त्यस्ता सपना देखिदैन साथै  निद्रामा भूत, प्रेतबाट हुने ऐंठन आदिको डरबाट समेत छुटकरा मिल्छ भन्ने जनविश्वास रहेको छ ।

हाम्रो शरीरका रहेका विभिन्न इन्द्रीय मध्ये जलीय इन्द्रीय जिब्रो, पार्थिव इन्द्रीय नाक, वायव्य इन्द्रीय छाला, तेजस इन्द्रीय आँखा र आकाशीय इन्द्रीय कान हुन् । कान सधै शुद्ध हुने भएकाले दिसा पिसाव गर्दा दायाँ कानमा जनै हाली जनैलाई शुद्ध राख्नुपर्छ भन्ने मान्यता रहेको छ ।

साउन शुक्ल पूर्णिमाको दिन शरीरमा धारण गरेको जनै र डोरोले मनमा सकारात्मक भावना उत्पन्न हुने, मन, बुद्धि, चित्त पवित्र र स्वस्थ रहने, शरीरमा बल, साहश, तेज, ऊर्जा शक्ति उत्पन्न गराउन र रक्तसञ्चारलाई निरन्तरता दिन सहयोग गर्ने धार्मीक विश्वास एवं मान्यता रहेको छ

हाम्रो परम्परा अनुसार जुठो, सुतक परेको अवस्था तथा यज्ञयज्ञादिका समयमा पुरानो जनै फेरी नयाँ शुद्ध जनै (मन्त्रेर राखेको) धारण गर्नुपर्छ । चुडिएको, छिदेको, अशुद्ध जनै लगाउनु हुदैन। यस्तो अवस्था आएमा तुरुन्त नयाँ जनै धारण गर्नु पर्छ । अझ पहिले पहिले त रजस्वला भएको महिलासँग छोइएमा समेत जनै फेर्ने चलन थियो । जनै धारण गरेका मानिसको मृत्यु भयो भने दाहासंकार गर्नु अगाडी जनै निकाली दिने गरिन्छ । यसले गर्दा जनै लगाएपछि निकालेर राख्न, फ्याक्न हुँदैन निरन्तर धारण गर्नुपर्छ भन्ने कुरा ज्ञान हुन्छ ।

जनै धारण नगरेको पुरुषले वेद पढ्न हुदैन आफ्ना माता पिताको मृत्यू संस्कारमा कृया गर्न हुँदैन भन्ने प्रचलन,परम्परा रहेको छ। त्यसैले व्रतबन्ध गर्दाको दिन वटुकलाई वेद पढ्न सिकाइन्छ। आजको दिनलाई संस्कृत दिवस पनि भनिन्छ । आजको दिनमा महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद शिक्षा प्राप्त गरेका हुनाले वेद जयन्तीको रुपमा पनि मनाउने गरिएको छ। तर अहिले पुराना धारणाहरू बदलिएका छन् वेदका मन्त्र जो कोही पुरुष, महिलाले जप्न पढ्न हुन्छ। यसमा कसैलाई रोकावट बन्देज छैन ।

आजको दिनलाई नेवार समुदायमा गुन्हु पुन्ही  वा ‘क्वाटी खाने पर्व’ भनि मनाइने  वेलुका क्वाँटी खाने चलन छ । “क्वाँटी” शब्द नेपाल भाषाको “क्वाति” शब्दबाट बनेको हो, जस अनुसार “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले “क्वाति” वा “क्वाँटी” को अर्थ तातो सुप भन्ने बुझिन्छ । तीन चार दिन अघि विभिन्न नौ किसिमका (चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ) गेडागुडी मिसाई भिजाइन्छ । भिजेर टुसा उम्रेको गेडागुडी पकाएर तयार गरेको खानालाई क्वाँटी भनिन्छ ।

क्वाँटी विशेषगरी रक्षा बन्धनका दिन पकाइन्छ । क्वाँटी खानाले रोग नलाग्ने,पेट सफा हुने र शरीरको तापक्रम बृद्धि हुन्छ भन्ने धार्मिक एवं आयुर्वेदशास्त्रीय मान्यता छ । क्वाँटी खाँदा धेरै फाईदा हुन्छ । क्वाँटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा कोरोना महामारीपछि त क्वाँटीको उपभोग गर्ने मानिसको सङ्ख्या बढेको छ । अहिले क्वाँटी सबै समुदायमा प्रचलित खाना भैसकेको छ ।

आज रक्षा बन्धन नगरीकन खाना खान हुदैन भन्ने मान्यता रहेकोले नयाँ जनै लगाउन र रक्षा बन्धनका लागि बिहानैदेखि काठमाडौंको पशुपतिनाथ ललितपुरको कुम्भेश्वर रसुवाको गोसाइँकुण्ड, जुम्लाको दानसाधु लगायतका देशका विभिन्न धार्मीक स्थानमा रहेका मन्दिर शिवालय ताल, पोखरी र कुण्डमा भक्तजनको भीड लाग्ने गर्छ । अझ गोसाइँकुण्डको पानी ललितपुरको कुम्भेश्वरबाट निस्किन्छ भन्ने मान्यता एवं विश्वास रहेकाले यस दिन कुम्भेश्वरमा ठूलो मेला लाग्दछ ।

नयाँ शुद्ध पवित्र जनै धारण र डोरो बाध्नका लागि मन्दिरमा नै जानुपर्छ भन्ने होईन। घरमा विधिविधान पूर्वक पूजाआजा गरी नयाँ जनै धारण गर्न र डोरो वाध्न सकिन्छ ।

यस वर्षपनि कोरोनाको महामारी चलिरहेकाले भीडभाड नहुने गरी सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना गर्दै सचेत भइ चाडपर्व मनाऔँ । नेपाल सरकारले बीचमा बिदा कटौती गरेको गरेको भएपनि यो वर्ष सार्वजनिक बिदा दिएको छ ।

समयको परिवर्तनसँगै प्रविधिमा आएको परिवर्तले मानिसको विशेषगरी युवावर्गको  सोच विचार चिन्तन मनन पेशा व्यवसाय समेत परिवर्तन आएको छ । हरेक क्षेत्रमा प्रतिष्पर्धा बढेको छ । मान्छे धेरै व्यस्त छ । एउटा व्यक्तिले कति काम गर्न सक्छ र । रक्षा बन्धनका लागि आवश्यक जनै बनाउन, पवित्र र चोखो धागो कात्न बाट्न, रक्षा बन्धनको महत्वका बारेमा जान्न बुझ्न र थाहा पाउन समयको अभाव छ । रक्षा बन्धनका दिन वेद पाठ गर्न, सुन्न ऋषि तथा पितृको लागी तर्पण दिने, पूजा आजा गर्ने समयको अभाव छ ।

यसैले धर्म कर्ममा खासै चाख राख्न बुझ्न चाहे पनि समय कम छ । आजको दिनको महत्वको बारेमा जान्नु खोज्नु जिज्ञासा राख्नुभन्दा बिहान सबेरै धागो बाँध्न र जनै भिर्न पाए पुग्यो भन्ने तर्फ ध्यान जान थालेको पाईन्छ । धागो बाँध्ने हो र जनै भिर्ने हो । तपसीलका कुरा जे सुकै होस भनी विधि र नियम नचाहिने धेरै भैसके । आ-आफ्नो कामको व्यस्तताको वाहनामा के हामी आफ्ना चाडवाडलाई औपचारिकतामा सिमित गर्न खोज्दै त छैनौं । त्यसैले धर्म कर्म संस्कार रीतिरिवाजका वारेमा पनि थप अध्ययन अनुसन्धान गरौं । हाम्रो धर्म कर्म संस्कार परम्परा रीतिरिवाजलाई कायम राखौं । दैनिक थोरै समय निकाली यसको अध्ययनमा उपयोग गरौं।

यो पर्व नेपाल भारतमा मात्र होईन तागाधारी जाती जनजाती बसोबास गर्ने विश्वका जुनसुकै देशमा पनि धुमधामका साथ मनाउने गरिन्छ । आ-आफ्नो क्षमता गच्छे अनुसार पर्व मनाएर हाम्रो परम्परालाई कायम राख्नु सबैको कर्तव्य हो ।

ऋषि तर्पणी, जनै पूर्णिमा, रक्षा बन्धन, क्वाँटी नखः या विभिन्न देश, ठाउँ विशेष, समुदाय अनुसार विभिन्न नामले सम्वोधन गरिएपनि यस पर्वले हामी बीच एक आपसमा खुशी, आत्मीयता, भाईचारा, सहयोग, सद्भाव सम्बन्ध बढाई एकता कायम गरोस ।

शुद्ध पवित्र धागोबाट तयार गरिएको जनै र डोरो धारण गरेर आज हाम्रो मन, बुद्धि, चित्त पवित्र भएको छ । शरीरमा बल, साहश, तेज, ऊर्जा शक्ति सकारात्मक सोच उत्पन्न भएको छ । यो सधै कायम रहोस । सधैभरी पवित्र भावना र ऊर्जा शक्तिका साथ काम गरौं । रक्षा बन्धनले हामी सबैको जीवन रक्षा गरोस । जय रक्षा बन्धन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार