काठमाडौं, ३० पुस – काठमाडौं उपत्यकामा एकैदिन २,६०७ जना थपिएका छन् । थपिएकामा काठमाडौंका एक हजार ९१३, भक्तपुरका ३१७ र ललितपुरका ३७७ जना हुन् । नेपालभर पछिल्लो २४ घण्टामा ५,०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४७४ जनाको पीसीआर परीक्षणमा ४२०४ र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८३ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब ५ रहेको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै हालसम्म कुल ११ हजार ६१३ जनाको मृत्यु भएको छ ।