छोरा जन्माउने आशमा गर्भवती महिलाको टाउकोमा ह्यामरले गाडियो किला

एजेन्सी- टाउको गाडेको किला चिम्टाले झिक्न नसकेपछि पाकिस्तानको पेशावरकी एक गर्भवती महिला अस्पताल पुग्छिन् । अन्जानमा टाउकोमा किला गडेको भन्दै चिकित्सकको सहयोग माग्छिन् । साढे दुई इन्च लामो किला आफै गाडेको उनको अस्पतालका कर्मचारी सशंकित हुन्छन् । त्यसपछि सत्य बोल्न उनी बाध्य हुन्छिन् ।

एक अन्धविश्वासीले गर्भवती महिलाले टाउको किला गाड्दा छोरा जन्मिन्छ भनेपछि उनले त्यस्तो हर्कत गरेकी थिइन् । वास्तवमा उनै अन्धविश्वासी व्यक्तिले महिलाको टाउकोमा ह्यामरले किला गाडिदिएका थिए । लेडी रिडिङ अस्पतालका डा. हैदर खानले ‘महिलामा पूर्ण रुपमा होस भएको तर खप्नै नसक्ने पीडा’ महशुस गरेको बीबीसीलाई बताए ।

एक छिमेकीको कथनपछि ती महिला धामीकोमा गएकी पाकिस्तानी समाचार संस्था डनले जनाएको छ । अस्पतालका कर्मचारीहरुका अनुसार ती महिलाका तीन ओटा छोरी छन् । अर्को पनि छोरी जन्माए उनलाई घर छोडेर जान पतिले धम्क्याउदै आएका छन् ।

‘उनी तीन महिनाकी गर्भवती रैछन् । पतिको धम्कीका कारण उनी अन्धविश्वसी व्यक्तिमा गएकी रहेछिन,’ अस्पतालका एक कर्मचारीले भने ।

पाकिस्तानको केही भागमा धामीप्रतिको विश्वास अझै पनि सामान्य जस्तै छ  । विशेषगरी उत्तर पश्चिम पाकिस्तानमा यस्तो विश्वास धेरैमा देखिन्छ । एउटा ट्विटमा पेशावर प्रहरी प्रमुख अब्बास अहसनले दोषीलाई कानुनको कठघरमा ल्याउन एउटा विशेष अनुसन्धान समूह गठन गरिएको बताएका छन् ।

प्रहरीले पीडित महिलामार्फत दोषीलाई पत्ता लगाउन अस्पतालका कर्मचारीहरुसँग सोधपुछ र अन्तवार्ता गरेको छ । कर्मचारीले टाउको बाट किला हटाइदिएपछि ती महिला आफ्नो बाटो लागेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार