मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने

दोहा – नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ । मलेसियाका प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी १ मेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट बनाउने घोषणा गरेका छन् ।

मानिसहरुको जीवनयापनको लागतमा भएको बृद्धि र यसको प्रभावको बारेमा सरकार सचेत रहेको भन्दै न्यूनतम पारिश्रमिक बढाउन लागिएको प्रधानमन्त्री साबरीले बताए ।

गभर्नमेन्ट-लिङ्क्ड कम्पनीहरू (जिएलसी)को ओपन डे २०२२ को शुभारम्भ गर्ने क्रममा उनले निजी क्षेत्रका कम्पनीहरूलाई पनि आफ्ना श्रमिकलाई सो न्यूनतम रकम प्रदान गर्न आग्रह गरेका छन् ।

जिएलसी र सरकार-सम्बन्धित लगानी कम्पनीहरू (जिएलआइसी) लाई आफ्ना स्थायी कर्मचारीहरूलाई कम्तिमा १५ सय रिंगेट पारिश्रमक भुक्तानी गर्न आह्वान गर्दै उनले अन्य कर्पोरेट संस्थाहरूलाई पनि सोही अनुसार प्रोत्साहित गरिने बताए ।

हाल मलेसियामा न्यूनतम पारिश्रमिक १२ सय रिंगेट छ। यो व्यवस्था १ फेब्रुअरी, २०२० मा तय गरिएको थियो। मलेसिया सरकारले न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट बनाउने घोषणासँगै त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिक पनि लाभान्वित हुने भएका छन् ।

हाल मलेसियामा विभिन्न क्षेत्रमा गरी करिब चार लाखको हाराहारीमा नेपालीहरू कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार