हाम्रो बजार डटकमका सीईओ रोहितसँग कसिन् केकीले बिहेको गाँठो

काठमाडौं, वैशाख – नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि हाम्रो बजार डटकमका सीईओ रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् ।

बुधबार उनको मेहेन्दी सेरोमनी मात्र भएको थियो । बिहीबार उनले हिन्दू परम्पराअनुसार रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । उनले फेसबुकमा विवाहका तस्विरहरु समेत सार्वजनिक गरेकी छिन् ।

उनले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतारचढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विस्वस्त छौँ ।’

केकी र रोहितको विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो भने केकीको तर्फबाट उनका केही अति नजिकका साथीहरु विवाहमा सहभागी भएका थिए ।

विवाह निकै गोप्य राखिएको थियो । आफैंले सामाजिक सञ्जालबाट विवाहको जानकारी दिने भनेर केकीले बिहेको मिति र स्थान खुलाएकी थिइनन् । रोहितसँग उनी केही समयदेखि प्रेममा थिइन् । रोहित हाम्रो बजार डटकमका सीईओ तथा फुडमारियोका सहसंस्थापक तथा सीईओ हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार