https://www.saurabhgroup.com/

काभ्रेमा मिनी बससँग टाटा सुमो ठोक्किँदा ५ जनाको मृत्यु

काठमाडौं, २१ वैशाख – वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा  दुर्घटनामा एक बच्चासहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाट सुमोसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वर्ष ३० को विक्रम श्रेष्ठ, ४५ वर्षीय हरिबहादुर बल, ४५ वर्षीय रमिला नेपाली, ३० वर्षीय सम्झना भुसाल र उनको ६ वर्षीय संगीत भुसाल रहेका छन् ।

काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बस सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको टाटा सुमोसँग काभ्रेको रोशी गाउँपालिका-११ मा दुर्घटनामा परेको काभ्रे प्रहरीले जनाएको छ ।

यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग ठक्कर खाएको थियो । काभ्रेको रोशी गाउँपालिका–११ मा भएको उक्त दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताए ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन नसकेको र घाइतेहरूको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रवक्ता खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार