नेपाल टेलिकमको समर अफरअन्तर्गत थप नयाँ अफर सार्वजनिक

काठमाडौं – नेपाल टेलिकमले गत साउन १ गतेदेखि लागू गरेको समर अफरअन्तर्गत थप नयाँ र आकर्षक अफर उपलब्ध गराउने भएको छ। कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरू उपलब्ध गराइ रहेकोमा हाल केही नयाँ अफर थप गरेको हो।

नयाँ अफरको रूपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराएको कम्पनीले बताएको छ।

२० मिनेट भ्वाइस प्याक १५ रुपैयाँमा उपलब्ध हुन्छ र एक दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ भने १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि ४९ रुपैयाँमा उपलब्ध छ। त्यसैगरी, नयाँ अफरको रूपमा १ एमबिपिएस स्पिडको अनलिमिटेड डेटा एक दिन (२४ घण्टा) को लागि ४९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको छ। अब सबै नेटवर्कमा १०० एसएमएस एक दिनको लागि १५ रुपैयाँ, २०० एसएमएस तीन दिनको लागि २९ रुपैयाँ र ३०० एसएमएस २८ दिनको लागि ९८ रुपैयाँमा पठाउन सकिने छ।

कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सियुजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ भने सियुजी अफर अन्तर्गत उही मूल्यमा पहिलेभन्दा ४ गुणासम्म बढी डेटा भोल्युम उपलब्ध गराइएको छ।

सियुजी १००० मा १० जिबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जिबी प्रदान गरिएको छ। त्यस्तै, सियुजी १५०० मा २० जिबी डेटा प्रदान गर्दै आएकोमा अब ८० जिबी प्रदान गरिएको छ। त्यसैगरी, सबै नेटवर्कमा कल गर्न, डेटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन्।

पहिले उपलब्ध अधिकांश अफरहरूलाई अब उही मूल्यमा थप डेटा र भ्वाइसमा थप मिनेटसहित उपलब्ध गराएको छ। साथै, कतिपय अफरलाई परिमार्जन गरिएको समेत कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार