कालीमाटी तरकारी बजारमा रहेको काउली र गोलभेँडामा घातक विषादी

काठमाडौँ, १ भदौ  – काउली र गोलभेँडासहित विभिन्न पाँच किसिमका तरकारीमा घातक विषादीको अवशेष पाइएको छ । कालीमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालामा परीक्षण गरेका तरकारीका नमुनामध्ये काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी विषादीको अवशेष फेला परेको पाइएको हो ।

केन्द्रीय कृषि प्रयोगशालाका अनुसार कालीमाटीको विश्लेषण एकाइमा गत आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ८८३ वटा नमुनाको परीक्षण गरिएकोमा ४६ वटामा अत्यधिक विषादी अवशेष भेटिएको हो ।

परीक्षण गरिएका नमुनामध्ये तोरीको साग, काउली, हरियो खुर्सानी, गोलभेँडामा सात/सात वटा खान नहुने विषादीको अवशेष भेटिएको थियो । यस्तै तुनेबोडीमा पाँचवटा, काँक्रो र घिउ सिमीमा तीन/तीनवटा, भेँडेखुर्सानी र गाँजरमा दुई/दुई वटा, हरियो फर्सी, बन्दा सलगममा एक÷एक वटामा विषादीको अवशेष भेटिएको थियो । यी तरकारीमा विषादीको रोकावट दर ४५ देखि १२० प्रतिशतसम्म थियो ।

यस्तै सो अवधिमा २९ किसिमका तरकारीमा केही दिन पर्खेर पुनः परीक्षणमा रिपोर्ट ठीक भएमा खान मिल्ने विषादीको अवशेष भेटियो । यो भनेको विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत हो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरिएको छ । त्यसो त एकाइ सञ्चालनमा आएको पहिलो वर्ष (२०७१ असार) एक महिनामा परीक्षण भएका १८७ नमुनामध्ये २६ वटा तरकारीमा खान नमिल्ने विषादीको अवशेष देखिएको थियो ।

चितवन र सर्लाहीको तरकारीमा बढी विषादी

कालीमाटी बजारमा भित्रिएका तरकारीको नमुना परीक्षण गरिएकोमा सबैभन्दा बढी विषादीको अवशेष चितवन र सर्लाहीबाट आएका तरकारीमा पाइएको छ । गत आर्थिक वर्षमा उपत्यकासहित २३ जिल्लाबाट आएका तरकारीको नमुना परीक्षण गरिएकोमा चितवन र सल्र्लाहीमा नौ/नौ वटामा खान नहुने विषादीको अवशेष भेटिएका छन् ।

यस्तै धादिङबाट आएका तरकारीमध्ये आठवटा नमुनामा खान नहुने विषादीको अवशेष भेटिएको छ भने काठमाडौँ, काभ्रेबाट आएका तरकारीको नमुना परीक्षण गर्दा क्रमशः चार र तीनवटामा विषादी भेटिएको केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ ।

भारतको तरकारी असुरक्षित

आर्थिक वर्ष २०७८/८९ मा भारतबाट भित्रिएको तरकारीको नमुना परीक्षण गराउँदा खान नहुने विषादीको अवशेष भटिएको छ । सो अवधिमा कालीमाटी बजारमा भारतबाट भित्रिएका ४१६ वटा नमुनाको परीक्षण गर्दा पाँचवटामा खान नहुने विषादीको अवशेष र छवटा केही दिन पर्खेर पुनः परीक्षण गर्दा ठीक भए मात्रै खान सकिने विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ ।

सो प्रयोगशालाका अनुसार सो अवधिमा कालीमाटी बजारमा भारतसहित चीन, युुगान्डा, टर्की, बगङ्लादेश, केन्याबाट भित्रिएका ६२५ वटा तरकारीका नमुना परीक्षण गरेको गरिएको थियो । भारतपछि युगान्डाबाट भित्रिएका तरकारीमा १७७ वटा नमुना परीक्षण गरिएकोमा एउटैमा पनि खान नहुने विषादीको मात्रा नभेटिएको प्रयोगशालाका प्रमुख सावित्री बरालले जानकारी दिनुभयो ।

मङ्सिरमा बढी विषादी

गत आवमा कालीमाटीमा परीक्षण भएका तरकारीमध्ये सबैभन्दा बढी मङ्सिरमा १३ वटा तरकारीका नमुनामा खान नहुने विषादीको अवशेष भेटिएको थियो । सो महिनामा २७१ वटा नमुना परीक्षण गरेमा १३ वटामा खान नहुने विषादीको अवशेष भेटियो भने ११ वटामा केही दिन पर्खेर खान मिल्ने विषादी भेटिएको जनाइएको छ ।

यस्तै माघ महिनामा २२४ वटा परीक्षण गरेका ११ वटामा खान नहुने विषादीको अवशेष भेटियो भने चारवटा केही दिन पर्खेर खान मिल्ने विषादीको अवशेष भेटिएको थियो । जेठमा पाँच, भदौ र पुसमा चार/चार वटामा र वैशाखमा दुईवटा नमुनामा खान नहुने विषादीको अवशेष भेटियो ।

यस्तै असोजमा १८५ वटा, कात्तिकमा १७२ वटा, चैतमा २५२ वटा र असारमा २७५ वटा नमुनामा विषादीको परीक्षण गरेमा खान नहुने विषादीको अवशेष शून्य देखिएको छ । – गाेरखापत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार