राष्ट्रिय क्रिकेट टिमका कप्तानमाथि जबरजस्ती करणीको आरोप

काठमाडौं, २२ भदौ – राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि नाबालिका किशोरीलाई जबरजस्ती करणीको आरोप लागेको छ। एक १५ वर्षीया किशोरीले लामिछानेमाथि बलात्कारको आरोप लगाउँदै मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छन् ।

गौशाला प्रहरी वृत्तका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ ।जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत ५ भदौमा काठमाडौंको एक होटेलमा सँगै बसेको र त्यहाँ आफूमाथि बलात्कार भएको पीडित किशोरीको दाबी छ।

क्यारेबियन लिग खेल्न जानुअघि नाबालिक किशोरीलाई सन्दीपले बलात्कार गरेको जनाइएको छ । घटनाको भोलिपल्ट ६ भदौमा सन्दीप केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न उडेका थिए ।

प्रहरीले किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको भनिएको होटेलको प्रमाण सङ्कलनको प्रक्रिया अघि बढाएको छ। सन्दीप हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिजमा छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार