दुई दलको फरक मतसहित महाअभियोग सिफारिस समितिले बुझायो प्रतिवेदन

काठमाडौँ, २ आश्विन  –  प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएका आरोपका विषयमा छानबिन गरी प्रतिवेदन बुझाएको संघीय संसद् सचिवालयले जनाएको छ । जबराविरुद्ध महाअभियोग लगाउन भन्दै आधार र कारण खुलाएर समितिले प्रतिवेदन बुझाएको छ ।

आइतबार नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम गठित ११ सदस्यीय महाअभियोग सिफारिस समितिले आज सम्माननीय सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाएको छ,” सभामुखको सचिवालयले उल्लेख गरेको छ ।

शनिबार राति बुझाइएको प्रतिवेदनमा दुई दलको आठबुँदे फरक मत समावेश छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदहरूले फरक मत राखेका हुन् । बहुमतका आधारमा समितिबाट प्रतिवेदन पारित गरिएको थियो ।

आसन्न निर्वाचन तालिकाका कारण शनिबार मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य हुने भएपछि हतारहतार प्रतिवेदन तयार पारेर बुझाइएको हो ।समितिले जबरासित आरोपका विषयमा बयान लिएको थियो । उनले आफूमाथि महाअभियोग लगाइनुपर्ने विशेष कारण नभएको जिकिर गरेका थिए । आफूमाथिको महाअभियोग प्रस्ताव स्वार्थप्रेरित रहेको उनको आरोप थियो ।

उनले बयानका क्रममा विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरेका थिए । समितिले ती व्यक्तिहरूसित समेत बयान लिएको थियो । त्यसपछि प्रतिवेदन तयार पारिएको हो ।

जबराविरुद्ध गत वर्ष फागुन १ गते संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि उनको पदमा निलम्बनमा छ । त्यसपछि उनीमाथिका आरोपका विषयमा छानबिन गर्न प्रतिनिधिसभाबाट प्रक्रियाबमोजिम महाअभियोग सिफारिस समिति गठन गरिएको थियो । गएको साउन २२ गते महाअभियोग प्रस्ताव समितिमा पठाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार