सल्यानमा जिप दुर्घटनामा ८ जनाको मृत्यु, एक जना घाइते

सल्यान, १२ आश्विन  सल्यानको कपुरकोटमा जिप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जिप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जिप कपुरकोट गाउँपालिका-३ मूलपानीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइते तिलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ । 

 बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जिपमा ९ जना सवार रहेका थिए ।

प्रहरी स्रोतका अनुसार उनीहरू नेपालगञ्जबाट बिहे भोज खाएर सल्यानस्थित घर फर्कदै थिए। ‘नेपालगञ्जजको बिहेमा गएर घर फर्किदै गरेका मानिसहरू दुर्घटनामा परेका हुन्,’ ती प्रहरी अधिकारीले भने, ‘उनीहरू डबल क्याप जीप बुकिङ गरि घर फर्कदै गरेको खुलेको छ।’

मध्यराति साढे १ बजेतिर दुर्घटना हुँदा प्रहरीले समयमै थाहा नपाएर उद्धार र उपचारमा समस्या भइ मृतकको संख्या बढेको एक स्थानीयले बताए।

स्थानीयले दुर्घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय कपुरकोटबाट बिहान साढे ४ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो।

दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्रि गरेर सल्यानतर्फ हिँडेको रा १ ज ५६३ नम्बरको डबल क्याप जीप जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा राति करिब सवा १ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार