ADBL ad ver 1

ADBL ad ver 1

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल विजयी

काठमाडौं,  ६ मंसिर – नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।

सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा सीमित भइन् । पञ्चायती व्यवस्था विघटनपछि काठमाडौंमा लगातार आठौं पटक संसदीय निर्वाचन लड्न पाउने नेता बनेका छन् । उनी २०४९, २०५१ र २०७४ सालका आम निर्वाचनमा विजयी बने ।

२०४९ सालमा काठमाडौंका दुई क्षेत्रबाट विजयी नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीले छाडेको क्षेत्र नं. ५ को उपनिर्वाचनमा श्रेष्ठ विजयी भएका थिए ।

२०७० सालको निर्वाचनपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको काठमाडौं–२ को उपनिर्वाचन (२०७१) मा भने उनी पराजित भए । त्यस्तै, २०५६ को संसदीय तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनी पराजित भए ।

२०१५ असोज १५ गते विजयादशमीको दिन जन्मिएका श्रेष्ठलाई यसपटक एमालेले काठमाडौं–९ बाट आठौं पटक उठाएर जय–पराजय बराबरी बनाउने अवसर दियो । यो अवसरलाई उनले सफलतामा परिणत गरिदिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार