पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

एम्बाप्पेले पाए गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल

काठमाडौं , ४ पुस – फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।

सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो ।लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए ।

पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले २ गोलको अग्रता बनाएको थियो । तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरे ।निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याएका थिए । त्यसपछि कुनै गोल हुनसकेन र खेल पेनाल्टीमा पुगेको थियो ।

एम्बाप्पेले पाए गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल

सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् ।

दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

फाइनलमा ह्याट्रिक गोल गरे पनि एम्बाप्पेले फ्रान्सलाई विश्वकप उपाधि दिलाउन सकेनन् । उनी विश्वकप फाइनलमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । विश्वकपका सात खेलमा ८ गोल गरेका पेरिस सेन्ट जर्मेइन पीएसजीका २३ वर्षे सुपरस्टार एम्बाप्पेले पहिलोपल्ट गोल्डेन बुट जितेका हुन् । मेस्सी विश्वकपकै उत्कृष्ट खेलाडी बनेको यो दोस्रोपल्ट हो ।

अर्जेन्टिना फाइनलमा हारेको सन् २०१४ को विश्वकपमा पनि उनी सर्वोत्कृष्ट खेलाडी बनेका थिए । यसपल्ट विश्वकपमा मेस्सीले फाइनलमा २ सहित ७ गोल गरे र ३ असिस्ट गरे । योसँगै मेस्सीको विश्वकप युग समाप्त भएको छ । उनले अर्जेन्टिना फाइनलमा पुगेलगत्तै फाइनल खेल आफ्नो विश्वकपमा अन्तिम हुने घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार