संसद भवनअगाडि आफ्नै शरीरमा आगो लगाएका आचार्यको कीर्तिपुर अस्पतालमा मृत्यु

काठमाडौं, ११ माघ – आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। आचार्यले हिजो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए ।आत्मदाहको प्रयासपछि आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भएको थियो  । आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आचार्यको आत्माको चीर शान्तिको कामना गरेका हुन्।

मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवनअगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका आचार्यको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। उनका विषयमा गृहमन्त्री लामिछानेले लेखेका छन्-

एउटा नागरिकले  अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम  हो। दु:ख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौं,  हामीलाई  माफ गर्नुहोला। तपाईंको आत्माले चीर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि आचार्यको निर्णय राज्यको असफलताका कारण भएको बताएका छन्।  सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- …एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो। र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।

उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका छन्।…

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आचार्यको आत्मदाहलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।उ नले लेखेका छन्- यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। सबैले बेलैमा गम्भीरतापूर्वक लिऔं र उपचार खोजौं।अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ। आरोप-प्रत्यारोप होइन, आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउॅबाट भूमिका निर्वाह गरौं!

मंगलबार दिउँसो नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका उनी सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउनुको कारणबारे उनी आफैँले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका थिय। आत्मदाहको प्रयास गरेका उनलाई  उपचारका लागि बर्न अस्पताल कीर्तिपुर लगिएको थियाे ।

६ हजार ५ सय ५३ शब्दको स्टाटसमा उनले देशको अवस्था, आर्थिक भार र अन्य विभिन्न पक्षबारे लेखेका छन् । साथै, राजनीतिमा लागे पनि युवाको भावनासँग खेलवाड गरिएको भन्दै रवीन्द्र मिश्र, सूर्यराज आचार्य, मुमाराम खनाल, केशव दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भीमप्रसाद अधिकारी, निर्देश सिलवाल, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियारप्रति उनले गुनासो पोखेका छन् ।

उनले युवाको भावनासँग खेलबाड गर्ने मिश्रलगायतका नेताहरुलाई आफ्नो आत्मले कहिल्यै नछाड्ने पनि भनेका छन् । उनले लेखेका छन्, ‘रबिन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाल, केशब दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भिम प्रसाद अधिकरी, निर्देश सिलवाल, समिक्षा बान्स्कोटा, प्रकाश चन्द्र परियार जि तपाइहरुलाइ मेरो आत्माले छोड्ने छैन, किन यो देशको एउटा महत्वाकांक्षी युवाको भावना सँग खेलबाड गर्नुभयो ?

र तपाइहरु एकीकृत हुनै नसक्ने, पार्टी चलाउनै नसक्ने भए किन यो देशका म जस्ता सयौं युवालाइ राजनितिमा लगाउनुभयो ? किन समय र पैसा बर्बाद गरिदिनुभयो ? यो देशमा सपना बाड्ने, आश्वासन बाड्ने अनि त्यसैलाइ आफ्नो गरि खाने साधन बनाउनेको जमात ठूलो रहेछ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार