रवि लामिछाने प्रतिनिधि सभा सदस्यहुन अयोग्य रहेको अदालतको ठहर

काठमाडौं, १३ माघ – सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी नागरिकता विवाद सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरेको छ।

अमेरिकी नागरिक रहेका लामिछानेले उक्त नागरिकता त्यागे पनि नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगएकाले उनी संसद् हुन अयोग्य रहेको फैसला गरेको हो।आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नरेन्द्र गौतमसहित उनको विपक्षमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र रमण कर्ण बहस गरेका थिए ।

लामिछानेको विपक्षमा  वकालत गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रत्येक नागरिकलाई कानुनले समान रूपमा हेर्ने भन्दै इजलासले रवि लामिछाने सांसद सदस्य बन्न अयोग्य रहेको रिट जारी गर्नुपर्ने तर्क राखेका थिए ।

लामिछानेको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता नरेन्द्र गौतमले यो रिट संवैधानिक इजलाससम्म जसरी आइपुग्यो त्यसको प्रक्रिया नै नपुगेको तर्क गरे। ‘यो रिटको बाटो मिलेको छैन,’ उनले भने,‘ यसरी रिट आउन थाले भने संवैधानिक इजलासले कसरी धान्न सक्छ।’

अधिवक्ता रविराज बसौला,  युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए ।

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको  थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार