काठमाडौँ, १७ माघ – गृहमन्त्री पद दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ । प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी प्रधानमन्त्री प्रचण्डलाई दिएको छ ।
पार्टी सभापति रवि लामिछाने आइतबार र मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर गृह मन्त्रालय नपाए सरकार छाड्ने धम्की दिएका छन् ।
सर्वोच्च अदालतले रवि लामिछानेको नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सांसद पदसमेत बदर गरिदिएको थियो । फैसला गरेपछि रिक्त रहेको गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले राख्न खोजेका छन् ।
कांग्रेससहितको पाँचदलीय गठबन्धन अचानक तोडेर गत पुस १० मा सातदलीय समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले भोलिपल्टै रास्वपाका सभापति लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएका थिए । लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताएका छन् । गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।