काठमाडाैं, १७ माघ – मगलबार सिंहदरबारमा रहेको नेपालको सबैभन्दा जेठो टेलिभिजन नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टीकाे पक्षमा रहेको बताउनुभएको छ । उहाँले सो कार्य गर्नको लागि आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्ने प्रतिबद्धता जनाउनुभयो ।
‘सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको छ ।’ उहाँले भन्नुभयो, ‘आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिनेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति लिइनेछ ।’
प्रधानमन्त्री प्रचण्डले नयाँ संविधान निर्माणसँगै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएपश्चात् टेलिभिजनले आफ्नो विषयवस्तुको विविधता बिस्तारकोमा खुसी व्यक्त गर्नुहुँदै भन्नुभयो, नेपाल टेलिभिजनले सबै वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायको इतिहास, भाषा, संस्कृति र आवाज मुखरित गरेको छ । सबै वर्ग र समुदायले नेपाल टेलिभिजनभित्र आफ्नो अनुहार देख्न सक्छन्, अपनत्वभावको अनुभूति गर्न सक्छन् भन्ने तथ्य स्थापित भएको छ ।’
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यका रूपमा स्थापित बहुभाषिक, बहुसांस्कृतिक यथार्थ र चरित्रलाई समेत गहिरो गरी आत्मसात् गर्दै सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना, समाचार र सामग्रीलाई नेपालभित्र बोलिने मातृभाषाका माध्यमद्वारा सूचनाको पहुँच आम जनतासम्म पु¥याउन टेलिभिजनले खेलेको भूमिकाकाे प्रशंसा गर्नुभयो।
नेपाल टेलिभिजन नेपाल सरकार र नेपाली जनताको आधिकारिक सूचना र समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो राजनीतिक प्रणाली र राज्यको चरित्रमा आएको परिवर्तनअनुरूप यस टेलिभिजनको भूमिका र महत्त्वलाई थप प्रमाणित गर्न आवश्यकतामा जोड दिनुभयो ।
उहाँले यस वर्षबाट विभिन्न ७ वटा भाषामा समाचार प्रसारणको आरम्भ हुनु थप महत्त्वपूर्ण भएको बताउनुहुँदै उहाँले डिजिटल युगमा मानव जातिको चिन्तन, जीवन र क्रियाकलापमा गुणात्मक बदलावसँगै सूचना प्रविधिको विकास र बिस्तारलाई केन्द्रमा राखेर मात्र राष्ट्रको गुरूत्तर कार्यभार पूरा गर्न सरकारी सञ्चारमाध्यमले नै भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध भएको बताउनुहुँदै भन्नुभयो, ‘पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिनेछ । सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदङ्गा वा आतङ्कको बीमाको व्यवस्था गरिनेछ । श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचना हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिनेछ ।
प्रधानमन्त्री प्रचण्डले सरकार गठन भएको अवस्थामा स्मरण गर्नुहुँदै भन्नुभयो, ‘चुनौतीपूर्ण परिस्थितिमा गठन भएको मेरो नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको छ । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयन, चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको सुधार एवं जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको छ ।’
सो अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाहले सूचना र सञ्चार क्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गर्दै संस्थाले व्यावसायिक दक्षता र सीपको विकासमा जोड दिइएको बताए । महाप्रबन्धक फुलमान बलले प्रधानमन्त्रीको चाहनाअनुसार नै नेपाल टेलिभिजनले विभिन्न भाषाभाषीमा समाचार प्रसारण शुरु गरेको जानकारी दिए ।